बडादशैँमा २५ हजार श्रद्धालुले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बडादशैँको अवधिमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

दशैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिने भएकोले उल्लेख्य संख्यामा भक्तजनहरु पुगेका हुन् ।

नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार ६३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार बडादशैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन ४ हजार ३२२ जना मन्दिरमा पुगेका थिए ।

हरेक वर्ष दशैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरिरहेको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

काठमाडौंलगायतबाट नेपालका धेरै स्थानबाट भक्तजन दर्शनमा आएका थिए । यस्तै नेपालबाहिर भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट केही भक्तजन पाथीभराको दर्शनमा आएको समितिले जनाएको छ ।

आइतबार, १२ कार्तिक, २०८०, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर