काठमाडौँ । बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् ।
भुकम्पको कारण बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएको प्रहरीले जनाएको छ ।
बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भुकम्पको कारण भौतिक संरचनामा ठूलो क्षति भएको बताएकी छन् । ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु र घरहरु ध्वस्त भएको अवस्था छ’ उनले भनिन् ।
भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । पहिरो आएर बाटो बन्द भएको र भुकम्पपछि स्थानीय घरबाहिर रहेको उनले जानकारी दिइन् । हालसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको उनको भनाइ छ ।
भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको स्थानीयले बताएका छन् । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।