कोशी प्रदेश एमाले ११ लाख घाटामा, बैंकमा २१ लाख मौज्जाद

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले आर्थिक वर्ष २०७८–०७९ मा नाफामा गएपनि आर्थिक वर्ष २०७९–०८० मा भने ११ लाख घाटामा गएको छ ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रस्तुत २०८० भदौ २३ गतेसम्पन्न लेखापरीक्षण प्रतिवेदनमा गत आर्थिक वर्षमा पार्टी ११ लाख १६ हजार ६७४ रुपैयाँ घाटामा रहेको उल्लेख छ ।

यद्यपी पार्टीको बैंक खातामा अहिले पनि २१ लाख २१ हजार ७९६ रुपैयाँ मौज्दात रहेको छ । आर्थिक वर्ष ०७८–०७९ मा एमालेको आम्दानी ७२ लाख १५ हजार ३११ रुपैयाँ गरेको थियो भने खर्च ३७ लाख २९ हजार ९६२ रुपैयाँ गरेर ३४ लाख ८५ हजार बचत गरेको थियो । आर्थिक वर्ष २०७९–०८० मा भने एमालेको आम्दानी जम्मा ३५ लाख ५० हजार ४५८ रुपैयाँ भयो भने खर्च ४६ लाख ६७ हजार १३२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । सो आर्थिक वर्षमा आम निर्वाचन भएको थियो ।

लेखापरीक्षण प्रतिवेदनमा एमालेले खर्च बैंकबाटै गरिएपनि कमिटीबाट निर्णय गरेर, कमिटी प्रमुखले भुक्तानी आदेश गरेर वा वैठकबाट खर्च अनुमोदन भने नगरिएको उल्लेख छ । एमालेको प्रदेशमा ९५ लाख ४३९ सदस्य रहेको जनाएको छ । एमालेले सदस्यता शुल्कबाट जम्मा ८ लाख ३४ हजार ४५८ रुपैयाँ मात्र आम्दानी गरेको छ ।

जनप्रतिनिधि लेवीवापत २४ लाख २ हजार, अन्य लेवीबाट ३ लाख १४ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चालू आर्थिक वर्षमा एमालेले खर्चतर्फ पारिश्रमिक ६ लाख ५० हजार, स्वदेश तथा स्थानीय भ्रमणमा ६ लाख ३३ हजार, बैठक खर्चमा १ लाख ४१ हजार, अतिथि सत्कारमा १ लाख ९२ हजार र भेला तथा प्रशिक्षणमा ५ लाख २५ हजार खर्च गरेको जनाइएको छ ।

प्रतिवेदनमा भ्रमणको नाममा हवाई भाडामा ठूलो रकम खर्च भएको देखिएकोले को कसलाई के प्रयोजनका लागि हवाई सुविधा उपलब्ध गराउने हो सो सम्बन्धी नीतिगत निर्णय गरेको नदेखिएको उल्लेख छ । यस्तै कमिटीको निर्णय बमोजिम उठ्नुपर्ने कमिटी लेबी, सांसद लेवी, राजनीतिक नियुक्ति लेबी, पार्टी सदस्य लेबि उठ्न बाँकी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

शनिबार, १३ असोज, २०८०, दिउँसोको ०३:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर