एमाले कोशीको अधिवेशन : खतिवडालाई ओलीको सिग्नल, ढकालले टक्कर दिने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन शुक्रबार विराटनगरमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि प्रतिस्पर्धा हुने देखिएको छ ।

अधिवेशन अगाडिसम्म भइरहेको तयारी हेर्दा अध्यक्षमा मोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने नेताहरुले जनाएका छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले खतिवडालाई अध्यक्ष बनाउन चाहेका छन् । तर, विगतमा माधबकुमार नेपाल समूहमा रहेका खतिवडालाई विद्यार्थी अवस्थादेखि नै ओली समूहमा सक्रिय रहँदै आएका ढकालले टक्कर दिने भएका छन् । एमाले मोरङको पाँचौ अधिवेशनमा नेपाल समूहबाट उम्मेदवार बनेका खतिवडालाई ढकालले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए ।

अध्यक्षका आकांक्षी हालका प्रदेश अध्यक्ष संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई केन्द्रीय सदस्य बनाएर खतिवडाको समर्थनमा उभ्याउने प्रयास भइरहेको छ । अध्यक्षको आकांक्षा राख्दै आएका हाल उपाध्यक्ष रहेका धनकुटाका टिकाराम चेम्जोङलाई पुनः उपाध्यक्ष बनाउन नेताहरुले लबिइङ गरिरहेका छन् । न्यौपाने र चेम्जोङ पछि हट्दा ढकाल र खतिवडा मैदानमा रहने देखिएको छ ।

अध्यक्ष ओलीको संकेत बुझेपछि प्रदेशका अधिकांश नेताहरु खतिवडाको पक्षमा उभिएका छन् । एमालेका एक केन्द्रीय सदस्यका अनुसार स्थायी समितिका सदस्यहरु अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराललगायत नेताहरु खतिवडाको पक्षमा उभिएका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य भने ढकालको पक्षमा खुलेका छन् ।

ओलीसँग पछिल्लो समय ढकालको सम्बन्ध बिग्रिएका कारण खतिवडाले अध्यक्षको समर्थन पाउने उनीपक्षका नेताहरुको दावी छ । ढकाल पछिल्लो समय पूर्वराष्ट्रपछि विद्यादेवि भण्डारी निकट रहेको चर्चा हुने गरेको छ । केहि समय अगाडि एमाले नेता कर्ण थापाले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने अन्तरवार्ता दिएपछि ओली मात्र नभएर सिंगो एमाले नै तरंगित भएको थियो ।

पार्टीको केन्द्रीय सदस्य रहेका ढकाल एमालेमा अवसर नपाएका नेताको रुपमा चिनिन्छन् । संसदीय राजनीतिमा लगातार पराजित रहेका उनका समकालिनहरु अधिकांश मन्त्री, मुख्यमन्त्री मात्र भएका छैनन्, पार्टीको स्थायी समिति र पोलिटब्युरोसम्म पुगिसकेका छन् । तर, हक्की स्वभावका ढकाल भने केन्द्रीय सदस्य मात्र छन् ।

ढकाल अध्यक्ष ओलीलाई पार्टीभित्र अल्पमतमा रहेको संकटपूर्ण अवस्थादेखि नै साथ दिएका नेता हुन् । हक्की स्वभावका उनले ओलीका कमजोरीको उनकै अगाडि पनि आलोचना गर्ने गरेका छन् । उनको त्यहि स्वभावले पनि ओलीले पछिल्लो समयमा उनलाई कर्नरमा पार्दै लगेको एमालेजनको बुझाइ छ ।

प्रदेशका अन्य नेताहरु शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकालसँग विद्यार्थी राजनीतिका समकालिन भएपनि उनीहरु स्थायी समिति सदस्य बन्दा ढकालले पोलिटब्युरो सदस्य सरहको प्रदेश अध्यक्षको आकांक्षा राखेका छन् । तर, अहिलेसम्म उनीहरुको साथ ढकालले पाउने देखिएको छ । यद्यपी अन्तिम समयमा राईले ढकाललाई समर्थन गर्नसक्ने संभावना रहेको उनी निकट नेताहरु बताउँछन् ।

अध्यक्ष ओलीको साथ पाउन ढकालले प्रयास गरेका थिए । तर, ओलीले संकेत नदिएको बताइन्छ । अध्यक्षले अघि बढ नभनेपनि निक्कै अगाडिदेखि प्रदेश अध्यक्षको तयारी गरेकाले उनी व्याक हुने अवस्था नरहेको नेताहरू बताउँछन् । उनले अध्यक्षमा प्रतिस्पर्धा गर्दा केन्द्रीय सदस्य त्याग गर्नुपर्नेछ ।

स्रोतका अनुसार ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सद्भाव रहेको छ । तर, सुवासचन्द्र नेम्वाङको मृत्युपछि ढकालको पक्षमा कुनै पनि नेताहरु खुल्न सकेका छैनन् । ‘अध्यक्ष ओलीको गृहप्रदेश पनि भएकोले उनको इशाराविपरित उभिन नेताहरुको हिम्मत छैन’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसमाथि ढकाल प्रदेश अध्यक्ष भएने आफूहरुमाथि हाबी हुने चिन्ता पनि प्रदेशमा रहेका स्थायी समिति सदस्यहरुलाई छ ।’ कोशी प्रदेशबाट एमालेको स्थायी कमिटीमा शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नी खरेल, हिक्मत कार्की र डा.शिवमाया तुम्बाहाम्फेले प्रतिनिधित्व गरेका छन् ।

खतिवडा पूर्वसांसद तथा एमालेका पुराना नेता हुन् । पार्टीको नवौं केन्द्रीय महाधिवेशनअघि नेपाल पक्ष छाडेर खतिवडा ओलीतिर लागेका थिए ।

प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । मनोनयन गर्ने कि नगर्ने भन्ने विवादको कारण निर्णय हुन सकेको छैन । कमिटी अध्यक्ष तुलसी न्यौपानेले मनोनयन गर्ने ५ प्रतिशतबारे छलफल भइरहेको बताए ।

अधिवेशनबाट चुनाब भएको अवस्थामा आफूले जित्ने दावी दुबै पक्षको छ । यद्यपी बाहिर भने खुलेहरु उनीहरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

प्रदेश अध्यक्ष न्यौपानेले अधिवेशनले सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने बताए । सर्वसम्मतको प्रयास असफल भए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुने उनले बताए । तर, निर्वाचन हुँदा कसैले प्यानल बनाउन नपाउने उनको भनाइ छ ।

अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएकोले त्यसको पहल प्रदेश इञ्चार्ज रघुबिर महासेठसहितका नेताहरुले गरिरहेका छन् । तर, अहिलेसम्म त्यसो संभावना नदेखिएको नेताहरु स्वीकार गर्छन् । ‘अन्य प्रदेशमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनौट भइरहँदा कोशीमा मात्रै सर्वसम्मत नेतृत्व छनौट गर्न चर्को रहेको छ’ एक स्थायी कमिटी सदस्यले भने ।

अध्यक्षका आकांक्षीले नै खुलेर आफ्नो उम्मेदवारीबारे नबोलेको कारण अन्य पदाधिकारीको आकांक्षा राख्नेहरु पनि मौन छन् । एमाले स्रोतका अनुसार अहिलेसम्म सचिवमा पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले दाबी गरेका छन् ।

शुक्रबार, १२ असोज, २०८०, बिहानको ११:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर