विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिव पदमा लक्ष्मण तिवारीले उम्मेदवारी दिने भएका छन् । असोज १२ र १३ गते विराटनगरमा एमालेको प्रदेश अधिवेशन हुँदै छ
नेकपा एमाले कोशी प्रदेश कमिटी संस्थापक सदस्य हुँदै सचिवालय सदस्यको जिम्मेवारी समेत समालेका तिवारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ०७३ देखी ०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष समेत भएका थिए । नेता तिवारी सँग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ । उनी कोशी प्रदेशका निवर्तमान पर्यटन मन्त्री समेत हुन ।
नेता तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सङ्गम स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई प्रचार प्रसार गरेर चिनाउने काम गरे । अहिले यो क्षेत्र नेपाल र भारत मात्र नभएर तेस्रो मुलुकका नागरिकका लागि चर्चित पर्यटकीय गन्तव्यको रूपमा कहलिएको छ । तिवारीकै पहलमा टिएमजे क्षेत्रलाई नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख १ सय पर्यटकीय गन्तव्य चुचीमा समेटेको छ ।
०४२ सालमा मैवाखोला मावि ढुङेसाघु ताप्लेजुङ बाट अनेरास्ववियु प्रारम्भिक कमिटीको उपाध्यक्ष भएर वामपन्थी राजनीतिमा होमिएका तिवारी ०४४ सालमा हात्तीसार क्याम्पस धरानको अनेरास्ववियु प्रारम्भिक कमिटीको उपसचिवमा निर्वाचित भए । ०४८ सालमा आरआर क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य भएर काम गरे । तिवारी ०५१ सालमा जिल्ला खेलकुद विकास समिति तेह्रथुमको अध्यक्ष भएका थिए । तिवारीले ०५४ सालमा जिविस सदस्य निर्वाचित भएका थिए ।
तिवारीसँग जलविद्युत र बैङ्किङ क्षेत्रको समेत अनुभव छ । तेह्रथुम जिल्लाको विकास र समृद्धिको अगुवाइ गर्ने नेताका रूपमा चिनिएका तिवारीले आफ्नो उम्मेदवारीले पार्टीलाई स्थानीय तह देखी प्रदेश हुँदै केन्द्रीय राजनीतिमा समेत जोड्ने बताए ।