विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ ।
शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहबीच अनावरण गरिन् । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमाया उदाहरणीय नारी हुन् ।
योगमाया नारी जागरणको अभियन्ता मात्रै नभएर आदर्शसमेत भएको उल्लेख कार्कीको भनाइ छ । योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको भन्दै उनले अझै पनि समाजमा लैंगिक, जातीयलगायतका विभेदहरु कायमै रहेको उल्लेख गरिन् ।
कार्यक्रममा विराटनगर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतको सहभागिता थियो । वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।