नेकपा एमाले कोसी अधिवेशनमा प्यानल बनाउन नपाउने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)  कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

अधिवेशन आयोजक मूल समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । अधिवेशन भोली ९शुक्रबार० उद्घाटन हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन् । विराटनगरस्थित होटल मनास्लुमा आयोजना गरिने अधिवेशन भव्य हुने एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए ।

न्यौपानेले मनोनितबाहेकका प्रतिनिधि छनोट सकिएको जानकारी दिए । अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिए । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ । हालसम्म ९९७ प्रतिनिधि चयन भएपनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी छ ।

यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेको भनाइ छ । उनले अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट हुने र नभए निर्वाचनमार्फत गरिने बताए । तर, प्यानल निर्माण गर्न नपाइने उनको भनाइ छ ।

‘सकभर सर्वसम्मत गर्ने नभए प्रक्रियामा गइ चुनाव हुनेछ,’ उनले भने, ‘प्यानल बनाए रद्ध गरिनेछ ।’ अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।

अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।‌
उनले एमालेलाई सक्ने विभिन्न देश भित्र र बाहिरका शक्ति लागिपरेको दाबी गर्दै एमाले एकताबद्ध रहेको र कुनै प्यानल नरहेको पनि बताए ।

एमालेले संघीयतापछि पहिलो अधिवेशन गर्न लागेको हो । यसलाई सबैले चासोपूर्वक हेरिरहेको प्रचार उपसमिति संयोजक शैलेश लामाले बताए ।

बिहिबार, ११ असोज, २०८०, दिउँसोको ०३:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर