विराटनगर बजारमा छैन चाडपर्वको उत्साह

विराटनगर । हिन्दुहरुको महान चाँड दसैं नजिकै आइसकेको छ । दसैं भन्नेबितिकै नयाँ लुगा लगाउने, किनमेल गर्ने, मीठो खानेकुरा खाने भन्ने बुझिन्छ । कुनै समयमा चाडपर्व नजिएसँगै महिना दिन अगाडिदेखि नै पर्वका लागि सामान जोहो गर्ने क्रम सुरु हुन्थ्यो । हाट बजारमा घुँइचो लागिसकेका हुन्थ्यो । आफूसँग भएको अन्नपात, जुट, खसीबाख्रा आदि बेचेर पर्व मनाउन लत्ताकपडा, भाँडाकुँडा, मीठोमसिनो सामग्री जोहो गर्नेक्रम अगाडि नै सुरु हुन्थ्यो । साना नानीहरु पनि नयाँ लुगा लगाउन पाइने खुसीमा उत्सुक भइसकेका हुन्थे ।

तर यो वर्ष त्यस्तो उत्साह देखिएको छैन । दसैं आउन अब २५ दिन मात्र बाँकी छ । तर बजारमा त्यसको चहलपहल सुरु भएको देखिदैन । बजार अहिले पनि सुनसान छ । व्यापारीहरुको शव्दमा ‘भदौरीया’ गइसकेको छैन । पसलहरु सुनसान छन् । दसैं लक्षित ग्राहकहरु बजारमा आइसकेका छैनन् ।चाडवाडमा किनमेल गर्नेका लागि असहज नहोस् भनेर महानगरपालिकाले सडकमा पार्किङ गर्न पाइने व्यवस्था पुनः खुला गरिदिएको छ । तर बजारका सडकमा सवारी साधनको संख्या बढेको छैन ।

बजारमा नयाँ नयाँ डिजाइनका कपडाहरु आइसकेको छ । तर किन्ने ग्राहकहरु नआइसकेको श्याम इम्पेक्स कपडा पसलका सन्तोष रौनियारले बताए । अहिले दिनभरीमा बढीमा चार पाँचजना मात्र ग्राहक पसलमा आउने गरेको उनले सुनाए । दसैंलाई लक्षित गरेर सामान थपेको तर नबिक्ने पो हो कि भन्ने चिन्ता बढेको उनले बताए ।रौनियार भन्छन् , “केही वर्ष पहिले यतिबेला बजारमा निकै भीडभाड भइसक्थ्यो र हामी काम गर्नेहरुलाई पनि निकै हम्मे हुन्थ्यो, तर अहिले दिनभरी ग्राहक कुरेर बस्नु परिरहेको छ ।’

केही महिनादेखि सेलाएको बजारमा रौनक आउन अझै केही समय लाग्ने देखिएको छ । त्यतिबेलासम्म पक्कै पनि बजार बढ्ने विश्वास उनीहरुको छ । तर बजार सोचेजस्तो गुल्जार नभए व्यापारीसँगै त्यहाँ कार्यरत श्रमिकहरुको अवस्था पनि जोखिममा पर्ने उनीहरुको चिन्ता छ ।
विराटनगरकै सुमित्रा स्टोरका सुजित चैन भन्छन्, ‘अहिले बजारमा भएका सबै पसलहरुको अवस्था उस्तै छ । किनमेल गर्नेको संख्या दिनदिनै घट्दो छ । चाडपर्व नजिकै आइसक्दा पनि व्यापार बढेको छैन । यसले सबै व्यापारीलाई अप्ठ्यारो पारिदिएको छ ।’

केही समय महानगरले जोगबनी भन्सारमा निकै कडाइ गरेको थियो । त्यो बेला विराटनगरको बजारमा सकारात्मक प्रभाव देखिएको थियो । तर अहिले सीमा त्यति कडा छैन । उपभोक्ताहरु जोगवनीबाट उपभोग्य वस्तु ल्याइरहेका छन् । यसको असर विराटनगर लगायतका बजारमा परेको उनीहरु बताउँछन् । अहिले जोगवनी बजारमा घुँइचो बढिसकेको छ । किनमेलका लागि जोगबनी गएकी झुमा बस्नेतले भनिन्, ‘विराटनगरमा महंगी धेरै छ त्यसैले भीड भएपनि जोगवनी नै गएँ ।

बिहिबार, ११ असोज, २०८०, बिहानको ०७:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर