स्नेहा खरेल
कर्कलो एक प्रकारको कन्दमूल हो । कर्कलोलाई गाभा पनि भनिन्छ । यो छाताजस्तै ठूलाठूला नरम पात हुने उष्णकटिबन्धीय बोट हो । यसको जरामा फल्ने पिँडालु नामक गानु सब्जीको लागि प्रयोग गरिन्छ । खेतबारीमा यसका खेती गरिन्छ । प्राचीन कालदेखि नै यसको पातलाई विश्वका विभिन्न क्षेत्रका मानिसहरूद्वारा खाद्यान्नको रूपमा प्रयोग गरिदैं आएको पाइन्छ ।
हाम्रो खेतबारी लगायत ओसिलो जंगल वा खोला किनारमा प्रसस्तै पाइने कर्कलोको वैज्ञानिक नाम चाहिँ कलोकेसिया एस्कुलिन्टा हो । कर्कलोमा पोटासियम, फोस्फोरस, म्याग्नेसियम, र कपर भरपुर मात्रामा पाइन्छ । यी बाहेक यसमा क्याल्सियम भिटामिन सि उत्तिकै पाइन्छ । कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छौँ । नेपालको नेवारी तथा मैथिल समुदायमा कर्कलोको डाँठलाई केलाएर ओइलाएपछि मसला र कागती मोलेर सिसीमा खाँदेर अचार बनाइन्छ । जसलाई नेवारी भाषामा ‘सलचा’ र मैथिली भाषामा ‘गेड्ली’ भनिन्छ । यो परिकार नेवारी तथा मैथिल समुदायमा पनि निकै लोकप्रिय रहेको छ । चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, जस्ता देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ । युरोपमा रोमन समयताका नै पिँडालु कसरी पकाएर खाने भनेर किताबमै लेखिएको पाइन्छ ।
हामीले तरकारीको रुपमा खाइरहेको भएपनि कर्कलो हाम्रो शरीरको लागि कति फाइदाजनक छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसमा प्रसस्त मात्रामा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । जसले गर्दा विभिन्न रोगसँग लड्ने क्षमता बढ्छ । सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि हुने कर्कलो नेपाल होस् वा अमेरिका, क्यानडा जताततै किन्न पाइन्छ । कर्कलोको पातमा ‘क्याल्सियम अक्जालेट’ नामक क्रिस्टल तत्व रहेकोले यसमा केही मात्रामा बिष हुन्छ जसकारण कर्कलोलाई मजाले नपकाइ खाएमा कोक्याउने गर्छ । जब कर्कलो र पिँडालु पाकी नकोक्काउने बन्छ, तब यो शरीरलाई हानी गर्ने अक्जालेटको सेफ लेभलमा झरिसकेको हुन्छ । कर्कलो र पिँडालुमा कागती वा निम्बुको अमिलो हाल्दा क्याल्सियम अक्जालेटको क्रिस्टललाई झन् भत्काइदिन्छ ।अक्जालेट प्रायः धेरै हरियो सागसब्जीमा हुने गर्छ । नेपालमा हामीले खाने गरेको कर्कलोमा ५९० मिलिग्राम अक्जालेट प्रति सय ग्राम कर्कलो रहेको प्रयोगशालाको रिपोर्टले देखाएको थियो ।
ऋषि पन्चमी र कर्कलो
हिन्दू नारीको ठूलो चाड तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन कर्कलोको तरकारी खाने प्रचलन छ । अघिल्लो दिन निराहार ब्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुवाइधुवाइ गरेर पूजा अर्चना गरेपछि कर्कलोको तरकारीसँग खाना खाने गरिन्छ । नुहाइधुवाइ र पूजाआजापछि शुद्ध कन्दमूल खाने मान्यताकै आधारमा कर्कलोको तरकारी खाने चलन सुरु भएको जानकारहरु बताउँछन् । ऋषि पञ्चमीको दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । ऋषिपञ्चमीका दिन कर्कलो नै खानुपर्ने जबरजस्त धार्मिक मान्यता छैन । यद्यपि, सुइरो भएर उम्रिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा उल्लेख छ । धार्मिक मान्यतासँगै कर्कलोको तरकारी खानुका थुप्रै फाइदाहरु छन् ।
खाना खाएलगतै रगतमा चिनी बढ्ने रोग ठीक गर्न पकाएको कर्कलोको गाभा खान दिइन्छ । कर्कला भनेको कम ग्लाइसेमिक खाना हो, जसले कलेजोमा ग्लूकोज नियन्त्रण गर्ने प्रक्रियालाई ढिलो बनाउने गर्छ । यसमा प्रतिरोधी स्टार्च समावेश हुन्छ, जुन सजिलैसँग अवशोषित र पच्ने गर्दछ । यसले खाना पछि रगतमा सुगरको स्तरको वृद्धिलाई नियन्त्रण गर्छ ।
पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ । यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ । यसमा भएको फाइबर र कार्बोहाइड्रेतले तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ । कर्कलाको तरकारी खादा कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कलो मिसाउदा अति लाभदायी हुन्छ ।
कर्कलोमा एन्टीअक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ । यसमा पाइने पोलीफेनोलहरू (मुख्यतः क्वेरेसेटिन)ले क्यान्सर जस्तो प्राणघातक रोगहरूबाट बच्न मद्दत गर्दछ । कर्कलोको पातमा पाइने एन्टिआक्सीडेन्ट, बीटा क्यारोटीन्स र भिटामिन ए ले समग्र स्वास्थका लागि फाइदा हुने गर्दछ ।कर्कलो पात मा पाइने भिटामिन ए आंखाको लागी लाभदायक हुन्छ । यसले आंखा को हेर्ने क्ष्मता बढाउदछ र आँखाको मांसपेशी पनि बलियो बनाउँछ ।
पिँडालुको जुसले कपाल झर्न कम गर्नुका साथै पिँडालु र गाभा दुबै पिँधेर बनाएको जुसले घाउबाट बगिरहेको रगत रोक्न, खाटा बसाउन र खत हटाउन पनि सहयोग गर्दछ । यसको सेवनले आन्तरिक रक्तश्राव पनि घटाउन सघाउँछ ।कर्कलोको उपयोगमात्र खानामा सीमित छैन । कर्कलोको पातलाई तातो पानीमा पकाएर बनेको लेदो फलाम र कम गुणस्तरको स्टिलमा खिया नपरोस् भनी पेस्ट बनाएर दल्ने वा झोल नै छर्कने गरिन्छ । चार प्रतिशत कर्कलोको पानीको झोलले ७३ प्रतिशत फलामलाई खिया लाग्नबाट बचाएको पाइन्छ । कारण कर्कलोमा हुने पोलिफिनोल एन्टीअक्सिडेन्ट हुने हुँदा यसले फलामलाई अक्सिजनसँगको संसर्गमा आएर खिया लाग्ने वातावरणलाई रोकिदिन्छ ।