कोशी टप्पुमा आइपुगे ‘पुष्पा’ र ‘अञ्जली’

विराटनगर । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा गैंडा ‘पुष्पा’ र ‘अञ्जली’लाई कोशी टप्पु वन्यजन्तु आरक्षमा राखिएको छ ।

छुट्टाछुट्टै खोरमा राखेर कोशी ल्याइएका गैडालाई आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा बनाइएको इक्लोजरमा राखिएको छ ।

गैडालाई केही समय त्यहाँ राखेर घुलमिल गराएपछि आरक्षमा छाड्ने तयारी छ। गैंडा लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी आइपुगेको थियो ।

वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैंडासँगै कोशी आइपुगेको आरक्षले जनाएको छ । टोलीले कोशीटप्पुमै बसेर केही दिन गैडाको निगरानी गर्नेछ ।

प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि दुई गैंडा ल्याइएको हो । दुवै पोथी गैंडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिनेछ । पथरी सेक्टर कार्यालयनजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्टसँगै गैंडा राखिएको छ ।

केही वर्षअघि कोशीटप्पुबाट चितवनमा १३ वटा अर्ना लगिएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैंडा ल्याउनुपर्ने माग गरेका थिए । त्यहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययनपछि गैडा पठाउने निर्णय लिएको हो । कोशीबाट चितवन अर्ना लागेको करिब ७ वर्षपछि कोशीले दुई गैँडा पाएको हो ।

उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुईवटा गैंडा कोशी ल्याइएको हो । ती गैंडा चितवन निकुञ्जको तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा उद्धबार गरिएको थियो ।

तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको छ। अहिले पुष्पा ३ वर्ष ९ महिना र अञ्जली २ वर्ष ६ महिनाका छन् ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा रहेको तथ्याङ्क छ। गणनाअनुसार देशभर ७५२ गैंडा छन् । कोशीमा ल्याइका गैंडा हुर्किएपछि भाले गैडा पनि ल्याएर छोड्ने योजना छ।

बुधबार, १० असोज, २०८०, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर