विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको प्रदेश अधिवेशनमा प्रतिनिधि प्रभावित पार्न मन्त्रीपरिषद विस्तार गरेको आरोप लागेको छ ।पहिलोपटक मुख्यमन्त्री हुँदा सहज बहुमतमा भएका कार्कीले मन्त्रीपरिषद विस्तारमा कुनै रुचि देखाएका थिएनन् । तर, अहिले अल्पमतको सरकारले विश्वासको मत लिने दिन नजिकै आएका बेला भने हतार–हतार मन्त्री संख्या थपेर अधिवेशन प्रभावित गर्न खोजेको एमाले नेताहरुको भनाइ छ ।
‘प्रदेश अधिवेशनको मुखमा मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्नु कपटपूर्ण छ’, एमाले कोशी प्रदेशका एक नेताले भने ‘आफूसँग असन्तुष्टहरुलाई मन्त्री तक्मा दिने र अधिवेशनमा आफू अनुकूल उम्मेद्वारका पक्षमा उपयोग गर्ने नीति देखियो । यो गलत छ ।’
एमाले प्रदेश अधिवेशनमा विनोद ढकाल, तुलसी न्यौपाने घनश्याम खतिवडा, टीकाराम चेम्जोङ लगायतका ओली पक्षधर नेताहरु अध्यक्षको दाबेदार छन् । मुख्यमन्त्री कार्की प्रदेशमा विनोद ढकाललाई जसरी पनि रोक्न लागिपरेको एमाले नेताहरु बताउँछन् । ‘विनोद ढकाललाई अध्यक्ष हुन नदिन कार्कीले प्रदेश सरकारको चरम दुरुपयोग गरिरहेका छन्’, एक नेताले भने ‘यद्यपि यस्तो प्रयासले केही हुने सम्भावना छैन ।’
‘मुख्यमन्त्रीसँग असन्तुष्ट रहेका प्रदेशसभा सदस्यहरूलाई अधिवेशनको मुखमा प्रतिनिधिलाई प्रभावित पार्ने गरी मन्त्रीमण्डल विस्तार गर्नु नै गलत नियत प्रेरित छ,’ ती नेताले भने ।
मुख्यमन्त्री कार्कीले सोमबार २ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । थप मन्त्रीमण्डल विस्तार गरेसँगै मन्त्रिपरिषद्को सख्या ९ पुगेको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने आफैसँग राखेका छन् । भदौ २२ गते ताप्लेजुङका तिलकुमार मेन्याङ्बो ,खोटाङका पाँचकर्ण राई, झापाका एकराज कार्कीलाई मन्त्री बनाएका थिए भने भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । सोमबार सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी मोरङका लिलाबल्लभ अधिकारीलाई मन्त्री बनाएका छन् भने सुनसरीका रामप्रसाद महतो धनकुटाका निरन राईलाई सोमबार राज्यमन्त्री बनाएका हुन् ।
मोरङ विनोद ढकालको गृह जिल्ला हो । मोरङबाट छनोट भएका प्रतिनिधि ढकालको पक्षमा देखिएपछि १० बुँदे पक्षधरका अधिकारीलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाएको नेताहरूको आरोप छ । यस्तै पटक पटक आश्वासन दिए पनि दुई पटक चुनाव जितेका निरन राईलाई यसअघि मन्त्री नबनाएका कार्कीले राज्यमन्त्री मात्रै बनाएका छन् ।
कार्कीले कमला दर्नाललाई सचेतक बनाएका छन् । दर्नालका श्रीमान् अनुभुति बम नेपाली मुक्ति मोर्चाको केन्द्रीय नेता हुन ।संसदीय दलका उपनेता समेत रहेका केन्द्रीय सदस्य राम राना मगरले भने दुई दुई पटक चुनाव जितेर आएका साथीहरूलाई मन्त्री बनाइएको बताए । ‘विभिन्न परिस्थिति आउँदा पनि उहाँहरूलाई राख्नै पर्ने हुन्थ्यो,’ उनले भने, ‘पार्टी भित्र विभिन्न जिम्मेवारी आउँछ । कहिलेकाहीँ जस्तो समयमा पनि दिनु पर्ने बाध्यता आइलाग्दो रहेछ ।’
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकार विस्तार गर्दा पाटीको अधिवेशनमा केही प्रभाव नपार्ने बताए । उनले असोज २ गते नै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरे पनि मुख्यमन्त्री काठमाडौँ जानु परेकाले सम्भव नभएको बताए । १२÷१३ सय प्रतिनिधिलाई ४ जना मन्त्री थप्दा केही असर नपर्ने उनको तर्क छ । कोशीमा १२ र १३ गते अधिवेशन हुँदैछ ।