पिजफायरमाथि प्याजचिन्तन

  अनन्तराज न्यौपाने

एक व्यवसायीसित एकाध घण्टा भलाकुसारी गर्नुपर्ने भयो । कहाँ बस्ने र कुरा गर्ने भनेर एक छिन छलफल गरेपछि उनले पिजफायर रेस्टुरेन्टमा बोलाए । मैले हुन्छ भनेपछि साँझ साढे सात बजे भेट्ने फाइनल भयो ।हामी गफिन थाल्यौँ । एक छिनपछि होटलका बेयरा आए । दाइले हट लेमन विद हनी अर्डर गर्नुभयो । मैले खाना खानुपर्ने थियो त्यसैले दुई वटा तन्दुरी रोटी र एउटा मिक्स भेजिटेबल भनेँ ।

अर्डर गरेको कति समयमा ल्याइपु¥याउलान् भनेर म घडी हेरेर बसिरहेको थिएँ । हट लेमन विद हनी ल्याउन १४ मिनट लाग्यो । अर्डर गरेको ठ्याक्कै ३२ मिनटपछि मेरो खानेकुरा आयो । खानेकुरा त आयो, तर मिक्स भेजिटेबल कस्तो थियो भने ग्रेभीमा होइन तेलमा डुबेको । मैले मधुमेहको ट्याब्लेट खाइसकेको थिएँ त्यसैले यसको सट्टा अर्को उसिनेको तरकारी अर्डर गर्ने समय थिएन । मैले तत्काल खाइहाल्नुपर्ने थियो । तर पनि मैले बेयरालाइै गुनासो गर्दै भनेँ, ‘ए भाइ, यस्तो तेलैतेल कसरी खानु ? पहिले–पहिले पनि यहाँ खाएकै हो । यस्तो तेलमा डुबेको खानेकुरा त आउँदैनथ्यो । आज के भएको यस्तो ? सकिन्छ भने छिटै अर्को बनाएर ल्याइदिनोस् ।’‘हाम्रो किचनको सेफ बाहिर जानुभएको छ सर त्यसैले किचनमा एकदुई जना नयाँ साथीहरू हुनुहुन्छ’, उनको उत्तर थियो, ‘यसलाई फिर्ता गरेर अर्को ल्याउन मिल्दैन । हाम्रो रेसिपीअनुसार नै बनेको हो । म अर्को ल्याउन सक्तिन ।’

यसपछि म अलमल्ल परेँ । नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार भनेको यही होलाजस्तो लाग्यो । नखाएर पनि के गर्नु ! तेल छान्दै सब्जीका टुक्रा छुट्याउँदै पेटपूजा गरियो ।पिजफायर विराटनगरमा नामचलेको रेस्टुरेन्ट हो । यसबाट यस्तो आशा मैले गरेको थिइँन । विराटनगरमा एकदुई यस्ता रेस्टुरेन्ट पनि छन्, तिनमा यो खानेकुरा धेरै पिरो भयो वा चर्को भयो वा धेरै तेल भयो भनेर गुनासो ग¥यो भने सरक्क त्यो खानेकुरा लगेर भनेजस्तो अर्को ल्याइदिन्छन् । त्यसको एक्स्ट्रा बिल पनि बनाउँदैनन् । यस्तो व्यवहारमा पल्किएका हामी ग्राहक र उपभोक्ता पिजफायरको मिक्स भेजिटेबल प्रकरणबाट दिक्क हुनु अस्वाभाविक होइन ।

विराटनगरको पीपलचोकबाट उत्तरको फाँट यति वेला रेस्टुरेन्टमय भएको छ । आर्थिक मन्दीको असर त होला नै तैपनि नाम चलेका रेस्टुरेन्टहरूमा भिडभाड नै देखिन्छ । तर मेरा विचारमा रेस्टुरेन्टका सञ्चालकहरूले बुझ्नुपर्ने कुरा के हो भने पहिलो– खानेकुराको गुणस्तर र हाइजिन मेन्टेन अनि दोस्रो गुणस्तर र हाइजिनमा निरन्तरता अर्थात् स्थिरता । तेस्रो फास्ट सर्भिस । यी विशेषताहरू एक दिन वा एक महिना वा एक वर्ष मेन्टेन गरेर हुँदैन, सधैँ हुनुपर्छ । किनकि ग्राहक–उपभोक्तालाई वर्ष दिन राम्रो सर्भिस दिएर पनि एक दिन दिन सकिएन भने उसको इम्प्रेसन बिग्रिन्छ र ऊ भोलिदेखि त्यहाँ आउनै छाडिदिन्छ । त्यसैले आज वा भोलि गुणस्तर र सर्भिस दिनु मात्र ठुलो कुरा होइन त्यसलाई निरन्तरता दिनु र स्थिर राख्नु महत्त्वपूर्ण हो ।

मानिस विभिन्न कारणले रेस्टुरेन्ट जान्छन् । जस्तो कि आज घरमा आपसमा ठुलो वादविवाद भयो र घरको कुनै एक सदस्यलाई घरमा खान मन लागेन । अब ऊ जाने ठाउँ भनेको रेस्टुरेन्ट नै हो ।यसको ठिक विपरीत आज घरमा अत्यन्त राम्रो मेलमिलाप र खुसियालीको वातावरणको सृजना भयो । फलतः सबै परिवार आउटिङमा जाने भए । यति बेला पनि जाने रेस्टुरेन्ट नै हो ।कुनै विद्यार्थीको परीक्षा बिग्रियो । उसलाई एकदुई घण्टा बियर खाएर मन बुझाउन मन लाग्यो । ऊ रेस्टुरेन्ट जान्छ । तर कुनै विद्यार्थीको परीक्षा सोचेभन्दा राम्रो भयो । घरबाहिर मिठोमसिनो खान मन लाग्यो । कहाँ जाने ? रेस्टुरेन्ट ।

यसरी एउटा रेस्टुरेन्ट र त्यही रेस्टुरेन्टको एउटा वेटरले विभिन्न मनोदशा, परिस्थिति र वातावरणका ग्राहक–उपभोक्तालाई चित्त बुझाउनुपर्ने हुन्छ । तर रेस्टुरेन्टहरू ग्राहकमैत्री भएनन् भने तिनले ग्राहकका कुरा सुनेर उचित समाधान दिन सकेनन् भने नामका भरमा केही दिन त चल्लान् दिगो रूपमा चाहिँ टिक्लान् भन्ने कुरामा दम छैन । त्यसैले अहिलेका रेस्टुरेन्टहरू हिजो वा आज टेबुल भरिएकै छन् भनेर अहंकार नगरून् क्वालिटी र सर्भिसलाई कन्टिन्यु गर्न सकेनन् भने ती पनि लोपोन्मुख प्रजातिमा पर्नेछन् ।

Supported only between 1944-2022