डा.बालकृष्ण साह
भारतको छत्तिसगढ (रायपुर) मा हुने अखिल भारतीय तैलिक साहु महासभाको राष्ट्रिय अधिवेशनको अवसरमा नेपालको तेली कल्याण समाज नेपाललाई पठाइएको औपचारिक निमन्त्रणा स्वीकार गर्दै नेपालबाट केन्द्रीय अध्यक्ष सहित ११ सदस्यीय टोली सहभागी हुने टुंगो भएपछि मोरङ अध्यक्षको हैसियतले म, विराटनगर महानगर अध्यक्ष सञ्जयकुमार साह, महानगर सचिव जगतलाल साहुलगायत सहभागी भयौं ।
सेप्टेम्बर १६ र १७ अर्थात भदौ ३० र ३१ मा आयोजना गरिएको सो अधिवेशन लगतै असोज १ मा नै तीज, विश्वकर्मा पूजा र चौरचन रहेकाले ३१ मा फर्किनु पर्ने थियो । तर, कहिल्यै नपुगेको रायपुर घुम्ने रहर पनि थियो । त्यसैले अधिवेशन अगाडि नै पुग्ने योजना बनायौं । विराटनगरबाट करिब १ हजार २०० किलोमिटर दुरीमा रहेको छत्तिसगढको राजधानी रायपुर सोझै पुग्न न रेल छ न त हवाइजहान नै । रेलमार्ग रोज्दा २ दिन लाग्ने भएकाले हामीले हवाई मार्ग रोज्यौं ।
भाद्र २७ मा बिहान ७ः३० बजे नै विराटनगरबाट काकडभिट्टाका लागि आफ्नै साधनमा हामी तीनै जना अगाडि बढ्यौं । काकडभिट्टा हुँदै बागडोरा (सडकमार्ग), अनि कलकता हुँदै रायपुर (हवाइमार्ग) करिब ८ बजे राति मात्र पुग्यौ । ।यता चर्को घाम, तर रायपुरमा भारी वर्षा । उस्तै समतल भूमि, उस्तै रहनसहन तर फरक मौसम । ३ घण्टाको भारी बर्षाले सडकरु पानीले भरिएका थिए । तर त्यो बर्षामा पनि छत्तिसगढ प्रदेश साहु संघका संयोजक इन्जिनियर यशवन्त साहु र सचिव छोटेलाल साहु हाम्रो प्रतीक्षामा फूलका गुच्छा लिएर पर्खिबसेका थिए । बर्षाले थपिएको अँध्यारोमा पनि छत्तिसगढले गरेको स्वागतले मनमा उज्यालो थियो । नयाँ ठाउँ कस्तो होला ? समस्या होला कि भन्ने डर मनमा पटकै थिएन ।
हाम्रो व्यक्तिगत मात्र होइन तेली कल्याण समाज मोरङबाट यो पहिलो औपचारिक भ्रमण थियो । केन्द्रका पदाधिकारीहरु बीरगंज भएर रेलमार्गबाट आउने कार्यक्रम थियो । उहाँहरु आउनु अगाडि र अधिवेशन सुरु हुनु पूर्व घुमघामका लागि हामीसँग दुई दिन समय थियो । हामीलाई छत्तिसगढ प्रदेश साहु संघको आफ्नै सेवा सदनमा आथित्यता गराएको थियो । वातानुकुलित (एसी) एटेच वाथरुम भएको आफ्नै सदन हुँदाहंँुदै अन्यत्र बस्नुपर्ने अवस्था थिएन । २ करोड ९४ लाख जनसंख्या रहेको छत्तीसगढ राज्यमा ३० लाख भन्दा बढि तेलीको जनसंख्या रहेछ । हिन्दु धर्म, शाकाहारी भोजन, यहाँ जस्तै संस्कार । फरक थियो त केवल भाषाको । यता मैथली र भोजपुरी हाम्रो भाषा, उता छत्तसिगढको स्थानीय भाषा । त्यसैले हाम्रो संवाद हिन्दीमा हुन्थ्यो ।
“साहु भवन” जुन भवनभित्र सेवा सदन, छत्तिसगढ प्रदेश साहु संघको कार्यालय, ठूला हलहरु र विद्यार्थीहरुको छात्रवास पनि थियो । त्यसैको बाहिर १० भन्दा बढी व्यपारिक सटरहरु थिए । छत्तिसगढमा तेलीहरुको जनसंख्या मात्रै धेरै रहेनछ । राजनीतिक, शिक्षा र व्यापारमा पनि तेलीहरु अगाडि रहेछन् । गरिब तेलीहरुको सामुहिक विवाह गराउनु, शीर्षदलका शीर्ष नेता हुनु, विश्वविद्यालयको डीन हुनु, मन्त्री तथा सांसदहरु उल्लेखनीय संख्यामा हुनुले तेलीहरुको सांगठानिक एकताको परिचय दिएको पाएँ ।
ढिलो सुत्ने अनि ढिलो उठ्ने चलन रहेछ । स्थानीय बजार ११ बजे मात्रै खुल्ने जानकारी पाएपछि नजिकको कुनै देवस्थल ‘नेटमा सर्र्च’ ग¥यौं । हामी बसेको टिकरापारादेखि ५ किलोमिटर टाढा राममन्दिर पुग्यौं । विशाल अनि शान्त र सफा राममन्दिर अत्यन्तै मनमोहक पाएँ । साथमा हनुमान मन्दिर, शिव मन्दिर र नौ ग्रहको मन्दिर रहेको राममन्दिरमा धेरै बेर रमायौं । अनि राममन्दिर अगाडि नै स्थानीय खाजा (मुङ्ग वाडा) पनि चाख्यौं । मन्दिर अगाडिका खाजाघरहरुमा लसुन र प्याजसमेत प्रयोग नगर्ने रहेछन्, माछा–मासु, मद्यपान त सम्भव नै भएन ।
नेपालमा जस्तै तीज छत्तिसगढमा पनि मनाउँदा रहेछन् । चेलीबेटीलाई बोलाउने, रमाइलो गरी मनाउने ठूलो पर्वका रुपमा तीज रहेछ । आफ्नी छोरी, दिदीबहिनी र फुपूलाई बोलाउने, उनीहरुका लागि किनमेल गर्ने अनि श्रीमतीलाई माइत पु¥याउने परम्परा रहेछ । त्यसैले हाम्रो स्वागतमा तथा हामीलाई घुम्न मद्दत गर्ने यशवन्त साहु र छोटेलाल जी को व्यस्तता थपिएको थियो । तर पनि आफ्नै घरको व्यस्ततालाई मिलाउँदै, हामी राम मन्दिरमा भएकै समयमा (करिब ८ बजे) यशवन्त जी सदन पुग्नु भएछ ।
हामीले नबोलाए पनि यसरी नबोलाई हाम्रो सत्कारमा आएकाले उनीहरुको आथित्यताको संस्कारको परिचय दिंदै थियौ । हामी आफूखुशी बजार घुम्ने र स्थानीय परिकारहरुको मज्जा लिने सोचमा भएकाले बिहान यशवन्तजीलाई विदा दियौं । स्थानीय गोलबजार घुम्दै रायपुरको पुरानो र प्रसिद्ध गिरनार रेष्टुरेन्टमा खाना खायांै । हार्दिकताका साथ स्वागत, नम्र बोली र स्वादिष्ट भोजनले गिरनार स्थापित भएको महसुस ग¥यौं ।
छत्तिसगढलाई कृषकहरुको प्रदेश भन्दा फरक नपर्ला । प्रदेश सरकारको आप्mनै इन्दिरा गान्धी कृषि विश्वविद्यालय, महात्मा गान्धी उद्यानिकी तथा वानिकी विश्वविद्यालय हुनुले पनि कृषि प्रवद्र्धन र अध्ययनसमेतमा राज्यको चासो र नीति स्पष्ट छ । हामी पुगेको संयोग पनि कस्तो मिलेछ, हरेक वर्ष कुशेऔंशी अर्थात बुबाको मुख हेर्ने दिन ‘बेल दौड प्रतियोगिता’ अर्थात कृषकहरुको जोडा गोरु दौड प्रतियोगिता गरी पुरस्कार दिने पुरानो परम्परा रहेछ । सडकमा दुबैतिर बन्द गरेर बडो उल्लासका साथ गरिने सो प्रतियोगिता अवलोकन गर्ने अवसर यशवन्त जीले जुराउनु भयो । तेलीहरुको मुख्य पेशा कृषि, सो कार्यक्रममा भएको तेलीहरुको सहभागिता एवं प्रथम तथा तृतीय विजेता भएकोबाट स्पष्ट बनायो । त्यसैक्रममा त्यस प्रतियोगिताको प्रमुख अतिथि त्यहाँका सांसद (बिधायक) विकास उपाध्यायसँग भेटघाट पनि गरियो । कृषि बाहेक त्यस राज्यमा खनिज उत्खनन्, कलकारखाना (मुख्य फलाम र कोल) तथा कृषि उत्पादन र यसैको बजार नै प्रमुख रहेछन् ।
भगवान रामको आमा कौशल्याको जन्मभूमि (छत्तीशगढ, चंदखुरी) मा रहेछ । सहरबाट करिब २५ किलोमिटर टाढा रहेको, ठूलो तलाउ अनि तलाउको बिचमा रहेको कौशल्यादेवीको मन्दिर असाध्यै मनमोहक थियो । यशवन्त जीले यो पवित्र स्थान दर्शन गर्ने र घुम्ने अवसर दिनुभयो । हामी रामको ससुराली गाउँका बटुवा उनका मामाघर घुमघाम गर्न पाउँदा आनन्दित नहुने कुरै भएन ।पंडरी बजार घुम्दै, सिटि मलमा किनमेल गर्दै अनि एक पटक १ हजार २०० जनाको क्षमता भएको र २४ घण्टा नै सेवा दिने अशोका विरयानीमा रायपुर गएदेखिको प्रथम पटक ‘ननभेज’ को मज्जा लियांै ।
छत्तिसगढ प्रदेश साहु संघका अध्यक्ष टहलसिंह साहु लगायत अन्य पदाधिकारीहरुसँग नेपाली तेली विद्यार्थीहरुलाई कृषि अध्ययनमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो । यसबारेमा थप कुराकानी गर्न इन्दिरा गान्धी कृषि विश्वविद्यालयका डा. नारायण साहु तथा छत्तीसगढका गृहमन्त्री ताम्रध्वज साहुसँग थप छलफल समेत गर्ने र सहजीकरण गर्ने सहमती समेत भयो ।
नेपालका बाँकी टोली पनि करिब ५ बजे (१५ सेप्टेम्बर) आइपुग्ने खबर पायौं । राष्ट्रिय अधिवेशन सहरबाट टाढा, विमानस्थलको छेउमा रहेको जैनम मानस भवनमा हुने भएकाले उहाँहरुलाई सोझै कार्यक्रम स्थलमा नै लगियो । र, हामीलाई पनि उतै स्थानान्तरण गरियो । हामी पुग्दा केन्द्रीय अध्यक्ष विश्वनाथ साहु, वरिष्ठ उपाध्यक्ष उम्देश्वर साह, पूर्व प्रदेश सांसद नेत्रविक्रम साह, जिल्ला अध्यक्षहरु अमृतलाल साह (सप्तरी), डा. नवलकिशोर साह (सर्लाही), बजरंगी साह (बारा) र २ अन्य सजातीय साथीहरु प्रतीक्षामा थिए ।
नेपालमा अन्तर्राष्ट्रिय तेली सम्मेलन गर्ने र विराटनगरमा नै गर्ने योजनाका हामीले बनाएका थियौं । यिनै सेरोफेरोमा आन्तरिक तयारी र गफगाफपछि सोही भवनमा गरिएको रात्रिभोजमा सहभागी भयौं ।अखिल भारतीय तैलिक साहु महासभाको राष्ट्रिय अधिवेशनको पहिलो दिन कार्यक्रम २ बजे सुरु हुने भनिएको थियो । विभिन्न प्रदेशका प्रतिनिधिहरु आउने क्रम जारी थियो । हामी चाहिँ १२ बजेसम्म कतै घुम्ने दाउमा थियौं । सोही अनुरुप हामी नेपालबाट गएका अरु सदस्यहरुलाई छोडेर विराटनगरका तीन जना साथीहरु ८ बजेतिर निस्कियौं । यशवन्त जी गाडी लिएर आउनुभयो । हामी बसेको ठाउँबाट करिब ४० किलोमिटर टाढा रहेको चम्पारण र राजिमलोचन मन्दिर जाने भयौं । राजिम छत्तिसगढमा महानदीको किनारमा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो । यसलाई छत्तिसगढको “प्रयाग” पनि भनिन्छ ।
यहाँको प्रसिद्ध राजीव लोचन मन्दिरमा भगवान विष्णुको विराजमान रहेछ । सृष्टिको प्रारम्भमा भगवान विष्णुको नाभीबाट निस्किएको कमल यहीँ रहेको र यहाँबाट ब्रह्माले ब्रह्माण्डको सृष्टि गरेको विश्वास गरिन्छ । यसै ठाँउमा महानदी, परी नदी र सोन्धुर नदीको संगम भएको कारणले यस ठाउँलाई छत्तिसगढको त्रिवेणी संगम भनिन्छ । संगमका बिचमा कुलेश्वर महादेवको विशाल मन्दिर छ । श्रीरामले आफ्नो वनवासकालमा यस स्थानमा आफ्ना परिवारका देवता महादेवको पूजा गरेको जनविश्वास छ । यस ठाउँको पुरानो नाम कमलक्षेत्र थियो ।
राजिमलोचन मन्दिर तथा यसको नाम सम्बन्धी धेरै कथाहरु रहेछन् । १८६९ मा ब्रिटिश पुरातत्वविद् जेडी बेगलरले राजिमको यात्रा गरे, जुन १८७८ मा ‘बुन्देखण्ड र मालवामा भ्रमण’ रिपोर्टका रूपमा प्रकाशित छ । त्यस्तै भारतीय पुरातत्व सर्वेक्षणका महानिर्देशक सर अलेक्ज्याण्डर कनिङ्घमले १८८१–८२ मा राजिमको भ्रमण गरे । उनको प्रतिवेदन पनि प्रकाशित छन् । यी प्रतिवेदन तथा अन्य स्थानीय कथाहरुले ‘रजीव’ नामक एक तेलिन (तेली) को चर्चा गरिएको छ । र, उनकै नामबाट राजिमको नाम राखिएको भनिएको छ । राजा जगतपालले स्थापना गरेको विष्णु (नारायण) को सो मन्दिरलाई नारायणको आँखा (लोचन) अगाडि राजीव राखेर ‘राजीवलोचन’ भनिएको उल्लेख छ ।
भगवानसँग जोडिएको राजीव हाम्रो तेली समुदायको हुन् भन्ने सुनेर जीवनमा एक पटक पुग्नै पर्ने स्थलमा पुगेको महसुस गर्यौं । सो स्थानमा पुग्दा हाम्रो छाती गर्वले चौडा भयो । हामी राजिवतेलीन माताको मन्दिरभित्र पुग्यांै । मन्दिर समितिका अध्यक्षले हामीलाई स्वागत तथा सम्मानसमेत गरे । तेलीन मातालाई तेल दलेर हामी हतार हतार कार्यक्रम स्थलका लागि राजिम छोड्यौं ।
कार्यक्रम स्थलमा पुग्दा १२ बजिसकेको थियो । खाना लागिसकेको थियो । हामीले पनि खाना खायौं । विभिन्न प्रान्तबाट आएका सजातीय व्यक्तित्वहरुसँग भेटघाट, चिनजान र फोटो लिने काममा नै व्यस्त भयौं । यसैक्रममा कृषि वैज्ञानिक डा. नारायण साहु लगायत छत्तिसगढका प्रमुख व्यक्तित्वहरु, विधायकहरुसँग भेटघाट र शिक्षा (विशेषतः कृषि अध्ययन) मा गृहकार्य गर्दै सहकार्य गर्ने, विवाह तथा समाजिक सम्बन्ध अगाडि बढाउने र सम्बन्ध विस्तार गर्ने औपचारिक छलफल भयो ।
केन्द्रीय कार्यक्रमा नेपालको विराटनगरमा अन्तर्राष्ट्रिय तेली सम्मेलन गर्ने औपचारिक प्रस्ताव नेपाली टोलीका सदस्य बजरंगी साहले राखे । जसलाई अखिल भारतीय तैलिक महासभाले हार्दिकताका साथ स्वीकार गरे । र, तत्कालै महासचिव रामलाल गुप्तालाई छलफल गर्न सभाका अध्यक्ष माननीय जयदत्त क्षीरसागरले निर्देशन दिए । कार्यक्रमपछि सबै रात्रिभोजमा लागे । पशुपतिनाथको देशमा आउन आतुर धेरै सजातीयहरुले हाम्रो सम्पर्क नम्बर लिन र चिनजान गर्न हामीलाई खोज्न थाले । ६०० भन्दा बढी अतिथि रहेको सो कार्यक्रममा नेपालमा पनि तेली जाति रहेको र नेपालका तेलीले आमन्त्रित गरेको विषयले चर्चा पाएकोमा गर्व लाग्यो ।
कार्यक्रमको अन्तिम दिन हामी विराटनगरको टोलीको फर्किने दिन थियो । बाँकी सदस्यहरुलाई फेरि छोडेर हामी ८ बजे नै विमानस्थल पुग्यौं । ९ बजे नै हाम्रो रायपुरदेखि दिल्ली (२ घण्टा) र २ बजे दिल्लीबाट बागडोग्रा (२ घण्टा) को हवाइ यात्रा तय गर्नुपर्ने थियो । त्यसैले भारतका तेली समुदायका व्यक्तिहरुलाई बोलाएर सामाजिक तथा सांस्कृतिक एकता, सहकार्यका लागि सम्मेलन गर्ने जिम्मेवारी लिएर राति करिब ९ बजे घर आइपुगें । घरमा तीजको दरले स्वागत गरिरहेको थियो, अनि उता नेपाली टिमले छत्तिसगढका गृहमन्त्री ताम्रध्वज साहुसँग रात्रीकालीन भोजमा सहभागी भएको तस्बिर पोष्टयाउँदै थिए ।
छतिसगढको यात्रा संयोगान्त र बियोगान्त जस्तो महसुस भएको छ मलाइ छोटकरीमा भन्दाखेरि छतिसगढका साहुहरुले (यसवन्त साहु) जुन मान सम्मान दियो वा गरियो ती छनहरु बाचुनजेल यादगार रहने छ ती मान सम्मान हामिले अब फिर्ता गर्नै पालो आएको छ। संसारमा समन्ध Give & Take ko formula lagu garda ती समन्ध Long Lasting janxa.