विराटनगर ।पदमुक्त भएको दुई साता बितिसक्दा पनि कोशी प्रदेशकी निवर्तमान स्वास्थ्य मन्त्री निर्मला लिम्बूले सरकारी निवास छोड्न अटेर गरेकी छन् । गत भदौ २१ गते सर्वाेच्च अदालतको आदेशपछि पद मुक्त भएकी लिम्बू त्यसयता निरन्तर सरकारी क्वाटरमा बस्दै आएकी छन् ।
नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारमा साउन २६ गते मन्त्री नियुक्त भएकी उनी २८ दिन मन्त्री पदमा रहेकी थिइन ।
हुन त पूर्वमन्त्री लिम्बूले मन्त्री पदबाट मुक्त भएपछि यस अगाडि पनि लामो समय सरकारी क्वाटर छोडेकी थिइनन् । अहिले दोश्रो पटक पनि उनी सरकारी क्वाटर छोड्ने मुडमा देखिन्नन् ।
गत भदौ २२ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । सोही दिन उनले ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री तिलकुमार मेन्याङवोलाई मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए । मुख्यमन्त्रीले सोमबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा मुख्यमन्त्री कार्कीले कार्य विभाजन गर्दै मेन्याङवोलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रीबाट हटे पनि उनले बुढीगंगा गाउँपालिकाको हात्तिमुढामा रहेको मन्त्रीको सरकारी निवास प्रयोग गरिरहेकी छन् । केही दिनदेखि काठमाण्डौंमा रहेकी लिम्बूको सामान मन्त्री क्वाटरमा राखेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले बताएका छन् ।
गत भदौ ४ मा निवर्तमान मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले भदौ २२ गते संविधानको धारा १६८ (३) अनुसारको सरकार गठनका लागि परमादेश जारी गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले मिठाकुमारी खतिवडाको तीन तलाको घर २९ हजार रुपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म थप सम्झौता गरेको छ ।
पूर्व मन्त्रीले क्वाटर नछाडेका कारण नवनियुक्त मन्त्री मन्त्रालयको क्वाटरमा जान पाएका छैनन् । मन्त्रीबाट हटे लगतै कर्मचारीहरुले क्वाटर खाली गरिदिन आग्रह गरेको भएपनि क्वाटर नछोडेको उनीहरुले बताएका छन् । ‘हामीले खाली गरिदिनु भनेर भन्यौ तर मन्त्री ज्यूले अहिलेसम्म खाली गर्नु भएको छैन । भोलीदेखि नयाँ मन्त्रीलाई कसरी व्यवस्थापन मिलाउने अलमलमा परेका छौं,’ स्वास्थ्य मन्त्रालयका एक जना कर्मचारीले भने ।
मन्त्री पदबाट हटेको सात दिन भित्रमा सरकारी आवास छाड्नु पर्ने कानुनी व्यवस्था रहेको छ । मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा उल्लेख भए अनुसार मुख्यमन्त्री र मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि सरकारी आवास सहितका सुविधाहरू पाउँछन् । आवास सुविधा सम्बन्धी दफा ८ मा भनिएको छ, ‘यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।