विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश नामकरणमा राजनीतिक दलहरुले दोहोरो व्यवहार देखाएकै कारण प्रदेशमा सुरक्षा चुनौती बढेको आरोप लगाएका छन् ।
पहिचानको आन्दोलन विदेशी सहयोगमा भइरहेको बताउँदै आएका मुख्यमन्त्री कार्कीले सोमबार विराटनगरको सुरक्षा छलफलमा बोल्दै प्रदेशको नाम सबैजसो नेताहरुको सहमतिमा राखिएको तर नामकरणपछि जिम्मेवार नेताहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
‘नामकरण अघि प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, उपेन्द्र यादव सबैसँग मेरो छलफल भएको थियो । सोही आधारमा प्रदेशको नामकरण भयो’ उनले भने ‘तर, जब नाम राखियो, उहाँहरुकै अभिव्यक्ति र आन्दोलनले सुरक्षा चुनौती सुरु भयो । जिम्मेवार नेताहरुकै कारण चुनौती बढेको छ ।’
मुख्यमन्त्री कार्कीले केन्द्रका मन्त्रीहरुले प्रदेश नामकरणको विरोधमा बोलेर प्रदेशको आगोमा घिउ थपेको आरोप पनि लगाए । ‘संविधान अनुसार नाम राख्दा मन्त्रीहरुले विरोधमा बोलेर हिँडिरहनु भएको छ, यसो गर्न मिल्छ ?’ उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोधे ‘केन्द्रबाट प्रदेशमा सुरक्षा चुनौती बढेको छ । यसबारे सरकारले ध्यान दिनुपर्छ भन्ने मेरो माग छ ।’
नामकरणविरुद्ध उठेको आन्दोलनमा प्रहरी परिचालन भएको तर प्रहरी प्रदेशमातहत नरहे पनि दोष प्रदेशले खेपेको उनको गुनासो थियो । ‘प्रहरीले आन्दोलनमा दमन गर्यो, दोष हामीमाथि आयो । प्रहरी हामीले परिचालन गरेको होइन । औपचारिक रुपमा हाम्रो आदेश प्रहरी मान्दैन, प्रहरी प्रदेश मातहत छैन’ उनले भने ‘यो अवस्था पनि केन्द्रले अन्त्य गरिदिनुपर्यो ।