महानगरमा विस्तार हुँदै माओवादी संगठन

विराटनगर । विराटनगर महानगरपालिकामा सुस्ताएको नेकपा माओवादी केन्द्रको संगठन तीन महिने अभियानसँगै वडा र टोलहरुमा विस्तार हुन थालेको छ । भदौ १६ गते देशभर एकसाथ संगठन सुदृढीकरण तथा रुपान्तरण अभियान सुरुवात गर्दा विराटनगरको चार वटा वडामा कार्यक्रम आयोजना भएका थिएनन् । संगठन कमजोर भएका वडाहरुलाई लक्षित गरेर महानगर कमिटीले अभियान केन्द्रित गरेपछि त्यसको सकारात्मक प्रभाव देखिएको महानगर कमिटीका अध्यक्ष नविन पौडेलले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिकाका १९ मध्ये २ नम्बर वडामा मात्र माओवादी केन्द्रले अभियान अगाडि बढाउन सकेको छैन । वडा पार्टी कमिटी नहुँदा २ नम्बरमा अभियान सञ्चालन गर्न नसकेकोले नगर कमिटी उक्त वडामा पार्टी निर्माण गर्न केन्द्रित भएको छ । त्यस क्रममा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार भरत ठाकुर माओवादी केन्द्र प्रवेश गरेका छन् । अब त्यसैलाई आधार बनाएर पुराना पार्टी सदस्यहरुसँग भेटघाट गरी वडा कमिटी गठन गर्ने र अभियान अगाडि बढाउने तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

अभियानका क्रममा महानगरका १८ वटा वडामा विभिन्न क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गरिरहेको छ । यस अवधिमा वडा कमिटीको बैठक, टोल कमिटीहरुको बैठक सम्पन्न गरी सबै नेता कार्यकर्ताहरुलाई परिचालन गरिएको पौडेलले बताए । ‘अहिले पार्टीका सबै कार्यकर्ताहरु काममा खटिनुभएको छ, कतिपय गुनासोलाई थाँती राखेर साथीहरु काममा लाग्नुभएको छ र महानगरमा पार्टी अगाडि बढेको छ,’ अध्यक्ष पौडेलले भने ।

अभियान सञ्चालन गर्न नेकपा माओवादी केन्द्रले महानगरमा दुर्गाप्रसाद चापागाइँ (सचिन) लाई इन्चार्जको जिम्मेवारी दिएको छ । नेता चापागाईँको नेतृत्वमा सुरु भएको अभियानले २५ दिनको अवधिमा १५० जना भन्दा बढी व्यक्तिहरुलाई विभिन्न पार्टीबाट माओवादी केन्द्रमा भित्र्याएको छ । यस क्रममा सबैभन्दा बढी विराटनगर ६ मा ९० जना पार्टी प्रवेश गरेका थिए । पार्टी परित्याग गरी नेकपा एमालेमा गएका पूर्व वडाध्यक्ष बिजय कामत अभियानकै क्रममा पुनः माओवादी केन्द्रमा फर्किएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । विराटनगर ५, १२ र १४ नम्बर वडामा पनि केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिइएको छ ।

महानगरका सबै वडामा यसै साता सबै वडाको बैठक सम्पन्न गरेर असोज १३ गते पार्टी स्कुल सञ्चालन गर्ने तयारी गरेको छ । हरेक वडाबाट पाँच जनाका दरले कार्यकर्ताहरुलाई स्कुलमा सहभागी गराइने अध्यक्ष पौडेलले जानकारी दिए । स्कुललिङमा पार्टीका उपमहासचिव जनार्दन शर्मा, सचिव चक्रपाणि खनाल, डिपि ढकाल, मनहरी तिम्सिना लगायतले प्रशिक्षण दिनेछन् ।

यसैगरी असोज १४ गतेबाट सबै वडामा पार्टी सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने अभियान सञ्चालन गर्ने तयारी माओवादी केन्द्रको छ । असोज २५ गते अन्य पार्टीहरुसँग मैत्रीपूर्ण खेलकुद गर्ने र मंसिर १ गतेबाट वडाहरुको सम्मेलन गरी नयाँ कमिटी निर्वाचित गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

विराटनगर महानगरपालिकामा नेकपा माओवादीका ३ हजार ४०० पार्टी सदस्य छन् । महानगरमा ६ हजार पार्टी सदस्य पुर्याउने योजना बनाएर कार्यकर्ताहरुलाई जनस्तरमा क्रियाशील बनाएको छ । नेकपा माओवादी केन्द्रले पार्टी सदस्य दोब्बर बनाउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

सोमबार, ०८ असोज, २०८०, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर