सम्पादकीय
नेपाललाई विश्वमन्चमा पछिल्लो समय सबैभन्दा धेरै सफलता र पहिचान दिलाएको खेल हो क्रिकेट । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट एशोसिएसन (क्यान) ले शनिबार नयाँ कार्यकालका लागि नेतृत्व चयन गरेको छ । चतुरबहादुर चन्द अध्यक्षमा दोहोरिएका छन् भने पूर्व कप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका अध्यक्ष चन्दको पहिलो कार्यकाल नेपाली क्रिकेटका लागि सुखद् रहेन । भलै खेलाडीको उच्च प्रदर्शनको बलमा नेपाली टीमले यहीबीचमा लोभलाग्दो सफलता आत्मसात गर्यो । तर, व्यवस्थापकीय दृष्टिले क्यान नेतृत्व भने आलोचनामुक्त रहेन ।
मुलुकलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको र प्रशस्त सम्भावना भएको क्रिकेट व्यवस्थापनमा पहिलो कार्यकालमा नरामं्ररी चुकेका अध्यक्ष चन्द सांगठनिक प्रभावको बलमा पुनः नेतृत्वमा पुगेका छन् । अब नेपाली क्रिकेटको चुस्त व्यवस्थापन, पूर्वाधार विकास र व्यस्त कार्यतालिका क्यानको नयाँ समितिको मुख्य प्राथमिकता हुनुपर्छ । नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान र खेलाडी पारस खड्कालाई सचिवमा पाउनु यसपटकको मुख्य उपलब्धि हो । बल र ब्याट तथा मैदानमा गर्ने नेतृत्वमा खरो उत्रिएका पारसको पनि वास्तविक परीक्षा अब सुरु भएको छ । खेलको सम्भावना, समस्या, खेलाडीको सीमा र समस्या भलिभाँती बुझेका पारसले क्यानमार्फत सम्बोधन प्रयास गर्न सके भने उनको क्रिकेटको यो दोस्रो इनिङ सम्झनलायक हुनेछ ।
नेपाल विश्व क्रिकेटका महाशक्ति राष्ट्रहरु पाकिस्तान र भारतसित प्रतिष्पर्धा गर्ने तहमा नेपाली टिम उक्लने कल्पना कुनैबेला असम्भव मानिन्थ्यो । त्यो सपवना पूरा भएको छ । तर, यो सफलता कायम राख्न क्यान सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेछ । अन्तर्राष्ट्रिय एक्सपोजरदेखि क्रिकेटका स्टार खेलाडीहरुसित भिड्न पाउने नेपाली खेलाडीको अवसर पुनःस्थापित गरिरहने काममा क्यान नेतृत्व इमान्दार भएर डट्न जरुरी छ । नेपाली क्रिकेट टोली एकपछि अर्को ठूलो सफलता आत्मसात गर्दै अघि बढिरहेको छ । खासगरी विश्व क्रिकेटका अनुभवी प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा नेपाली खेलाडीहरुले मैदानमा जुन आत्मविश्वास र कौशल पेश गरिरहेका छन्, त्यो अभूतपूर्व छ । यो सफलता जोगाइराख्ने कसरी ? यसको उत्तर र उपाय खोज्ने मुख्य दायित्व क्यानको हो । उसले राजनीतिक तिक्डममा भन्दा यस्ता उपायको खोजीमा आफूलाई व्यस्त तुल्याउनुपर्छ ।
नेपाली क्रिकेटको यो सफलताको उचाई जोगाइराख्ने र अझै प्रगतितर्फ उन्मुख गराउने उपायको खोजी अहिलेको मुख्य आवश्यकता हो । खासगरी हाम्रा खेलाडीहरुलाई व्यस्त तालिकामा राख्ने, नियमित प्रशिक्षणदेखि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा पनि उत्तिकै व्यस्त तुल्याउने उपायको खोजी क्यानले गर्नुपर्छ । यसबाहेक पूर्वाधारको सहज उपलब्धता र खेलाडीहरुको सेवा सुविधामा पनि उत्तिकै ध्यान दिने वातावरण बनाउने दायित्व क्यानकै हो । सरकारले पनि क्रिकेट क्षेत्रको विकास र खेलाडीहरुको हौसलाका लागि यसअघि घोषणा गरेका पुरस्कार राशी प्रदान गर्ने, उनीहरुको आर्थिक भविष्यको सुरक्षाको ग्यारेन्टी गर्ने काम गर्नुपर्छ । यो पहल गर्दै सरकारलाई बाध्य बनाउने काममा पनि क्यान नै लाग्ने हो । क्यानमा हुने अनावश्यक राजनीतिक तिक्डम र त्यसको कारण क्रिकेट नै प्रभावित हुने अवस्था पनि आउनु हुँदैन । यी दीर्घकालीन योजनामा क्यानको नयाँ समितिले ध्यान दिनुपर्छ ।