विराटनगर । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने अभियानमा कतिपय नेताहरुले जिम्मेवारी पुरा नगरेको पाइएको छ ।
केन्द्रबाट अभियानको लागि कोशी प्रदेशका पालिका तहको नेतृत्वको लागि खटाइएका कतिपय नेताहरु अभियानमा सहभागी नभएको पार्टीले जनाएको छ ।
अभियान उद्घाटनका दिन गएका नेताहरू त्यसपछि फर्किएर गाउँ नगएको पार्टीको प्रदेश कमिटिले जनाएको छ । जनतासँग सबन्ध सुधार गर्ने भन्दै नेकपा (माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि तीन महिने अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभियान उद्घाटन गरेका थिए ।
कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बनेका बाबुराम गौतम अभियानमा छैनन् । सभामुखबाट राजीनामा दिएपछि पार्टीको केन्द्रीय सदस्य मनोनित भएका उनलाई मोरङको उर्लाबारी नगरपालिकाको अभियान इञ्चार्जको जिम्मेवारी तोकिएको थियो । उनी अभियानको उद्घाटन कार्यक्रममा पनि सहभागी नभएको बताइएको छ ।
उद्धब थापा नेतृत्वको सरकार निर्माणको लागि सभामुखबाट राजीनमा दिएका गौतम थाप नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए । तर, सर्वोच्च अदालतले थाप सरकारलाई बर्खास्त गरेसँगै उनी एक महिनामै पदमुक्त भए । सभामुख र मन्त्रीबाट हट्नुपरेपछि उनी बिरक्तिएर काठमाडौँतिर नै गएको नेताहरुले बताएका छन् ।
कोशी प्रदेशमा सुनसरीको इनरुवा र रामधुनी नगरपालिकाको जिम्मा पाएका केन्द्रीय सदस्य जीवन आचार्य अभियानमा नरहेको पार्टीले जनाएको छ । आचार्य अभियानको उद्घाटन कार्यक्रममा सहभागी भएपनि त्यसपछि अभियानमा नजोडिएको माओवादी केन्द्र सुनसरीले जनाएको छ ।
‘प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने भन्दै उहाँ काठमाडौँतिर धाइरहनु भएकोले अभियानमा सहभागी हुनुहुन्न,’ माओवादीका एक नेताले भने, ‘अब बन्ने सरकारमा मन्त्रीका लागि लविइङ भइरहेको होला ।’ पार्टीले दिएको अभियानको जिम्मेवारीसमेत पुरा नगर्नु दुःखद् रहेको ती नेताले बताए ।
गत चुनावमा प्रदेशसभामा नेकपा एमालेले टिकट नदिएपछि माओवादी केन्द्रमा प्रवेश गरेका सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्धारीकलाल चौधरीलाई पार्टीले अभियानको लागि मोरङको कानेपोखरी गाउँपालिकाको जिम्मा दिएको थियो । अभियानको उद्घाटनमा पनि नगएका उनले केहि दिन अगाडि बालकोटमा पुगेर नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेको फोटो सार्वजनिक गरेका थिए । उनी एमालेमै फर्किएको बताइएको छ ।
अभियानको लागि केन्द्रीय सदस्य किरण राईलाई पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिकामा जिम्मेवारी दिएको थियो । उनी पनि फिल्डमा गएका छैनन् । उनले भने भाइ बिरामी भएका कारण फिल्डमा नआउन नपाएकाले जानकारी दिएको भएको प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले बताए । प्रदेश र संघका कतिपय सांसदले पार्टीको काममा बेवास्ता गरेको नेताहरु बताउँछन् ।
प्रतिनिधिसभा सदस्य रामकुमार राई पनि अभियानको क्रममा तोकिएको फिल्डमा छैनन् । उनी बिरामी भएका कारण अभियानमा नखटेको नेताहरूले बताएका छन् । उनी कोशी प्रदेशका पूर्वमन्त्री एवं खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
प्रतिनिधिसभा सदस्य रहेकी भोजपुरकी दुर्गा राई पनि अभियानपछि पार्टीको काममा नजोडिएको नेताहरू बताउँछन् । उनलाई खोटाङमा जिम्मेवारी दिइएको थियो । त्यसो त उनी सांसद हुनुभन्दा अगाडि पनि पार्टीको काममा सक्रिय थिइनन् । नेताहरूसँग नजिक भएकै उनलाई सांसद बनाएको भन्दै विवादसमेत भएको थियो ।
शान्ति प्रक्रियापछि माओवादी लगातारजसो नै सरकारमा गएको र जनतासँग नआएको गुनासो बढेपछि अभियानको घोषणा गरेको माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज चक्रपाणि खनाल (बलदेव)ले बताए । ‘हामी शान्ति सम्झौता पछाडि रुखको टुप्पोमा बस्यौ,’ खनालले भने ‘रुखका हाँगाहरू पनि भाँचिन थाले, अहिले हामी जरादेखि नै पानी हालेर गोडमेल गर्नुपर्छ भनेर जनताको घर दैलोमै आएका छौँ ।’ अभियानको क्रममा आम जनताको घरमा पुग्ने घोषणा गरेको माओवादीले देशभरका सबै वडामा एकसाथ अभियान थालेको थियो । तर, नेताहरुकै वेवास्ताले अभियान प्रभाबकारी नभएको कार्यकर्ताहरु बताउँछन् ।
केन्द्रले खटाएका करिब २० प्रतिशत नेताहरू फिल्डमा नआएको पार्टी प्रदेश कमिटीका अध्यक्ष नेम्बाङले बताए । अभियानमा नखटिएका नेताहरुको बारेमा अनुगमन गरि पार्टीले रिपोर्ट तयार गरेको र आगामी दिनमा त्यसबारे गम्भीर समिक्षासहित मूल्यांकनको विषय बनाइने उनको भनाइ छ ।
देबेन्द्र पौडेलले युवा अल्छी भए भनेका थिए। उनलाई यो न्युज पठाइदिनुस। यो त मोरङ सुनसरीको मात्रै रहेछ। प्रदेश भरी झन धेरै गयल होलान