प्रधानमन्त्री प्रचण्ड चीनमा, राष्ट्रपति सीसँग लन्च मिटिङ

विराटनगर । प्रधानमन्त्री प्रचण्ड एक साताको भ्रमणको क्रममा उत्तरी छिमेकी मुलुक चीन पुगेका छन् । शनिबार बिहान चीनको हाङ्जाओ पुगेक प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा नाचगानसहित स्वागत गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर अमेरिकाको न्युयोर्कबाट हङकङ हुँदै हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डको आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता भएको छ ।

हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि हाङ्जाओ विमानस्थल पुगेका थिए ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन् । आजै राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसँग सिहु होटलमा लन्च मिटिङ गरेका छन् ।

खेलकुद प्रतियोगितामा विशिष्ट अतिथिहरू कम्बोडियाका राजा नारोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद, उनकी श्रीमती अस्मा, कुवेतका युवराज मिशल अहमद अल जबाएर, अल सवाह, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउ, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सु, मलेसिया तल्लो सदनका सभामुख जोहरी विन अब्दुल र उहाँका श्रीमती नोलेनी, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहसमेत सहभागी हुन चीन पुगेका छन् । यस्तै, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाह, ब्रुनाई सुल्तानका प्रतिनिधि राजकुमार सोफी, जोडर्नका राजकुमार फैजल, थाइल्याण्डका राजकुमारी सिरिवन्नावरी महिदोल लगायतका राजपरिवारको अन्य प्रतिनिधि सहभागी रहेको बेइजिङस्थित चाइना रेडियो इन्टरनेशनलका जनाएको छ ।

प्रतिगोयतामा एसियामा रहेका ४८ देशमध्ये ४५ देशका खेलाडीहरू सहभागी रहेका छन् । नेपालले २९ खेलमा २५३ जना खेलाडी लिएर एसियाली खेलकुदमा सहभागी भएको छ ।

सीसँग करिब एक घण्टा लन्च मिटिङपछि प्रचण्ड फेरि रिसोर्टमै फर्कने कार्यक्रम छ । रिसोर्टबाट ४ बजेर २० मिनेटमा प्रचण्ड फेरि राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका लागि उनी बसेको होटल सिहु जानेछन् । प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार भ्रमण तालिकामा यो भेटवार्ता ३० मिनेटको राखिएको भएपनि लम्बिन सक्ने भएकाले त्यसपछिको केही समय खाली राखिएको छ ।

बेइजिङमा थप दुई वटा महत्त्वपूर्ण भेटवार्ता भएपनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्ने बताइएको छ । हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुदको कार्यक्रम सकेर चीनको राजधानी सहर बेइजिङ पुग्ने कार्यक्रम छ । बेइजिङमा असोज ८ गते चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटवार्तापछि प्रधानमन्त्रीले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।

भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिनेछ ।सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

शनिबार, ०६ असोज, २०८०, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर