संखुवासभा । पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका–७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक धनश्याम श्रेष्ठका अनुसार हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र बानामा उपचार हुन नसकेपछि थप उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको छ ।
बिहीबारे बजारमा मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरी टोली खटिएको थियो । पक्राउ परेका तीनै जनालाई ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनामा संम्लग्नलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ बमोजिम अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी छ ।