विराटनगर । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष रहेका विराटनगरका उद्योगी राजेन्द्र राउत पनि सामेल हुने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै पर्सी चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ भने उद्योगीसहित काठमाडौंबाट भोलि भ्रमण टोली चीन जानेछ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी व्यवसायीको टोली पनि चीन जाँदैछ । सोही टोलीमा राउत पनि सहभागी हुने भएका हुन् ।
बेइझिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनमा नेपाली उद्योगी व्यवसायीको टोली सहभागी हुनेछ । सम्मेलन चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपाल उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गर्नेछन् ।
भ्रमणको क्रममा नेपाल–चीन व्यापार सहजीकरणको विषयमा छलफल हुने जानकारी दिँदै राउतले नेपालको कृषि उत्पादनलाई सहज रुपमा चीनतर्फ निर्यात गर्न क्वारेन्टाइन कार्यालयहरु स्थापना गर्नुपर्ने खाँचो रहेको बताएका छन् । त्यसको लागि भ्रमणको क्रममा चिनीया पक्षसँग कुराकानी हुने उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको टोली असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमणमा रहनेछ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन् । यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारी पनि टोलीमा रहनेछन् ।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् । बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाल–चीन लगानी सम्मेलनलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड ६ गते हाङ्जाओमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरि प्रधानमन्त्रीको टोली असोज १३ गते स्वदेश फर्किनेछ ।