धरानका शिक्षकले उपमहानगरमा दिए धर्ना

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका ५५ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले बिहीबार नगर परिसरमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासङ्घले आन्दोलनको लागि शिक्षकहरुलाई काठमाडौं बोलाएको भएपनि धरानका शिक्षकहरुले भने उपमहानगरपालिकामा धर्ना दिएका हुन् ।

आन्दोलन परिचालन समितिका सहसंयोजक रामबहादुर विष्टका अनुसार सरकारले संसदमा पेश गरेको शिक्षा विधेयक पञ्यतकालीन ऐनभन्दा पनि प्रतिगामी भएकोले आन्दोलनमा उत्रनु परेको हो । शिक्षक कर्मचारीले उपमहानगरको सेवा प्रवाहमा बाधा नपर्ने गरी धर्ना दिएका थिए ।

काठमाडौंमा भएको आन्दोलनमा भने धरानबाट २७ जना प्रतिनिधि सहभागी रहेको शिक्षक महासंघले जनाएको छ । त्यसको लागि २ लाख ११ हजार रुपैयाँ जुटाएर उनीहरुलाई काठमाडौं पठाएको विष्टले जानकारी दिए ।

आन्दोलनको लागि मावि तहका शिक्षकबाट २ हजार ५ सय, निमावित तहका शिक्षकबाट २ हजार, प्रावि तहका शिक्षक १ हजार ५ सय र कर्मचारीबाट १ हजार रुपैयाँ सङ्कलन गरिएको छ । धरान उपमहानगर परिसरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शिक्षक तथा कर्मचारी धर्नामा बसेका थिए ।

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि विद्यालयमा पठनपाठन ठप्प भएको छ । शिक्षकशिक्षिका र कर्मचारीहरुले धर्नास्थलमा नै हाजिरी पनि गरेका छन् । माग पुरान नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको चेतावनी छ ।

शिक्षक तथा कर्मचारीहरुले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायीत्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रअ नियुक्ती, सरुवा, कार्यसम्पादन मुल्यांकनलगायतका बिषयमा माग राखेर आन्दोलन गरेका हुन् । उनीहरुले स्थानीय सरकार मातहत रहन पनि अस्वीकार गर्दै आएका छन् ।

बिहिबार, ०४ असोज, २०८०, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर