सम्पादकीय
विराटनगर महानगरपालिकाले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर तीन जनालाई नगर रक्षक सेवाको जिम्मेवारीबाट हटाएको सूचना सार्वजनिक ग¥यो । सेवाबाट हटेका नगर रक्षकहरुको कसुर नागरिकप्रति गर्ने व्यवहार नागरिकमैत्री नहुनु थियो । केही अमर्यादित व्यवहार गरेको भन्दै जनता समाजवादी पार्टीले विरोध जनायो । आफ्नो दलको नेतामाथि भएको दुव्र्यवहारका विरुद्ध कुनै दलले आवाज उठाउनु स्वभाविक होे । तर महानगरले त्यसको बदलामा दसैंको मुखमा काम गरिआएका श्रेणीविहीन तहका कर्मचारीलाई यसरी अमर्यादित ढंगबाट हटाउने कार्य भने पूर्णतय अस्वभाविक हो । यो कार्य अन्यायपूर्ण पनि छ ।
नगर रक्षकहरुको जिम्मेवारी तोकिएको निर्देशन पालना गर्नु हो । नगरको सुव्यवस्थाका लागि नगरप्रमुख हुँदै विभागीय प्रमुख र आफ्ना कमाण्डरले दिएको आदेश पालना गर्ने उनीहरुको जिम्मेवारी हो । उनीहरुले दिएको जिम्मेवारी उल्लंघन गरेको खण्डमा, दिएको निर्देशनविपरीत कार्य गरेको अवस्थामा दण्डका साधारण औजारहरुको प्रयोग गरिनु पर्छ । तर महानगरले सिधै खुँडा प्रहार गरेको छ । जो होचो उसैको मुखमा घोचोको व्यवहार महानगर नेतृत्व अझ भनौं मेयरकै तहबाट भएको छ । यो दुःखद् हो ।
हो, नगर रक्षकहरुले जसपा मोरङ अध्यक्ष राजकुमार यादवप्रति गरेको व्यवहार अनुचित नै थियो । त्यो हदसम्मको व्यवहार नगर रक्षकहरुले गर्न हुने थिएन । तर त्यो परिस्थिति महानगरले नगर रक्षकलाई दिएकै जिम्मेवारी पूरा गर्ने क्रममा बनेको थियो भन्ने तथ्यलाई बिर्सन हुँदैन । सडकमा पार्किङ रोक्ने अभियान महानगरले नै चलाएको हो । नगर रक्षकलाई ह्वील लक बोकाएर ठाउँको ठाउँ सवारी साधनमा लक लगाउने र साँझ जरिवाना असुल्ने धन्दा महानगरले नै चलाएको हो । नगर रक्षकले त्यो काम गरेर गल्ती गरेका थिएनन् । उनीहरुलाई अनावश्यक दबाब दिँदा उत्पन्न भएको वादविवाद बढेर हातापाइको अवस्था बनेको हो । त्यस भन्दा अगाडि नै मेयर वा उपल्लो तहको कमाण्डरलाई रिपोर्टिङ गरेको भए यो अवस्था आउने थिएन । तर, घटना भइसकेपछि छानविन गर्ने, स्पष्टीकरण सोध्ने, सचेत गराउने आदि दण्डको प्रक्रिया अवलम्बन नगरी एकै पटक सेवाको जिम्मेवारीबाट हटाउँदा अरु नगर रक्षकहरुको मनोविज्ञान कस्तो हुन्छ भन्ने तर्फ महानगर नेतृत्वले ध्यान दिएको देखिएन ।
जुनसुकै तह र जिम्मेवारीमा रहने व्यक्तिको सबैभन्दा महत्वपूर्ण कुरा आत्मसम्मान हो । व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउने ढंगबाट महानगर नेतृत्वले उनीहरुलाई सेवाको जिम्मेवारीबाट हटाएर समग्र महानगरका कर्मचारीहरुको काम गर्ने जाँगर मारिदिएको छ । आफ्नै कर्मचारीहरुको मानमर्दन गरिदिएको छ । त्यस अर्थमा महानगरले गम्भीर कमजोरी गरेको छ ।
अझ उदेकलाग्दो त के छ भने तीन जना कर्मचारीको जागिर गुम्ने गरी महानगरले गरेको निर्णयको जनता समाजवादी पार्टीले स्वागत गरेको छ । निम्नतहमा कार्यरत कर्मचारीबाट भएको साधारण कमजोरीको यति ठूलो सजायँ दिँदा एउटा राजनीतिक पार्टीले हर्षबढाइँ गर्नु कसरी उचित हुनसक्छ ? निमुखा जनताका लागि काम गर्छौं भन्ने राजनीतिक दलको यो व्यवहार र उनीहरुको जागिर खोस्नै पर्छ भन्ने हठ जनविरोधी पनि छ ।
हुन त महानगरले जसपालाई चित्त बुझाउनका लागि मात्र नगर रक्षक सेवाको जिम्मेवारीबाट हटाएको तर उनीहरुको जागिर कायमै रहेको प्रचार पनि सँगसँगै गरिरहेको छ । विद्युत हेल्फरको रुपमा नियुक्त भएका उनीहरुलाई नगर रक्षकको अभावपूर्ति गर्न केही समय अगाडि ल्याइएको थियो । अहिले विवाद भएपछि केहि दिन पछि विद्युत हेल्फरकै रुपमा काम दिने तयारी महानगरको छ । महानगरको यो व्यवहार जनता ढाँट्ने ढँटुवाको जस्तो हुनेछ । जसपालाई झुक्याउन आफ्ना कर्मचारीको मानमर्दन गर्ने, झुठको सहारा लिएर झुठो विज्ञप्ति जारी गर्ने कार्यले राजनीतिमा असल संस्कार बसाउँदैन । महानगर र महानगरको नेतृत्वले यस्तो कुसंस्कारको अवलम्बन नगरकै बेस । बरु उनीहरुलाई नसिहत दिएर नगर रक्षकै भूमिकामा निरन्तरता दिनु बुद्धिमतापूर्ण काम हुन सक्छ ।