विराटनगर । महेन्द्र मोरङ क्याम्पस मानविकी संकाय स्नातक तह प्रथम वर्षमा भर्ना भएकी विराटनगरकी सन्ध्या कायस्तले त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर अनुसार २०७७ सालमै परीक्षा दिनुपर्ने थियो । तर, कोरोना संक्रमणका कारण सो वर्षको परीक्षा स्थगित भयो । उक्त परीक्षा २०७८ साल मंसिरमा भयो ।
मेरिल्याण्ड कलेजबाट १२ कक्षा उत्तीर्ण गरेकी उनले ३.६ जिपिए ल्याएर क्याम्पस भर्ना भएकी थिइन् । उनले एसईईमा पनि ३.६५ अंक ल्याएकी थिइन् । पढाइका हिसावले अब्बल उनलाई स्नातकको पहिलो वर्षको परीक्षा दिँदा कुनै गाह्रो थिएन । परीक्षाको रिजल्ट १५ महिनापछि २०८० वैशाखमा आउँदा भने उनी फेल भइन् ।
ऐच्छिक अंग्रेजी विषयको परीक्षा दिइरहेकै बेला उनलाई परीक्षा गार्ड बसेका प्राध्यापक राजन दत्तको भूमिका शंकास्पद लागेको थियो । दत्तले सन्ध्याको उत्तरपुस्तिकाबारे तीन पटक सोधिखोजी गरे । सन्ध्यालाई नाम सोधे । उत्तरपुस्तिका ओल्टाइपल्टाइ गरे र आफैंले प्रमाणित गरे ।
सन्ध्यालाई थाहा थियो, परीक्षाहलमा दत्तकी छोरी आस्था हमाल पनि परीक्षा दिइरहेकी थिइन् । ‘टोटलमा मेरो ७० प्रतिशत नम्बर आएको छ । तर, मेजर अंग्रेजीमा फेल आयो । मलाई पहिले नै डाउट थियो’ उनले भनिन्, ‘त्यो सरले परीक्षा दिइरहेको बेला पटक–पटक मेरो पेपर पल्टाएर हेर्नुभएको थियो । अनि मेरो नाम पनि सोध्नुभएको थियो ।’
दोस्रो वर्षको परीक्षामा सन्ध्याले ७० प्रतिशत नम्बर ल्याएकी छिन् । पहिलो वर्षको परीक्षामा पनि ६९.९ प्रतिशत नम्बर ल्याएकी छिन् । तर, ७० पूर्णाङ्कको अंग्रेजी विषयमा भने उनको २१ नम्बर मात्र आयो । ‘क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले १४ नम्बर बराबरको मेरो उत्तरपुस्तिका आस्थाकोमा एट्याच भएको भनेर मलाई पनि भन्नु भएको छ’ उनले भनिन्, ‘आस्थाको २८ नम्बर आएर पास भएकी छन् ।’ आफ्नो १४ नम्बरको उत्तरपुस्तिका नै गायब पारिएकोबारे क्याम्पस प्रमुख बाबुराम सरले स्वीकार गरेको उनको भनाइ छ ।
नतिजा फेल देखाएपछि सन्ध्याले परीक्षा नियन्त्रक कार्यालयमा रिटोटलिङको लागि निवेदन दिइन् । त्रिवि नियमानुसार ‘मिति २०७९।१२।२६ गते दस्तुर तिरेर उत्तरपुस्तिका हेर्दा थप गरेकोे उत्तरपुस्तिका नरहेको एवम् उत्तरपुस्तिकामा थप पेपरको रेकर्डसमेत च्यातेर फालेको फेला परेको भन्दै उनले आस्थाको सि.नं.६०००३०००९ सँग आफ्नो सि.नं. ६०००३००८२ क्रसचेक गर्न माग गरेकी थिइन् ।
निवेदनपछि क्याम्पसका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईले परीक्षा नियन्त्रणको कार्यालय गएर उत्तरपुस्तिका चेक गर्छु भनेर जवाफ दिएका थिए । ‘तर, सरले पेपेर चेक गर्नु भएनछ । गर्नुभएको भए मेरो रि–टोटलिङ भएर आउँथ्यो नि त ?’ उनी भन्छिन्, ‘त्यही भएर रिटोटलिङमा पहिलेकै जस्तो आयो ।’
‘पहिलो पेजको मार्जिनभन्दा माथि उत्तरपुस्तिका थप गरेको प्लस वान, प्लस वान लेख्छौं । त्यो पनि च्यातेर हटाइदिएको छ । लेख्दा अर्को पेपरमा छाप बसेको चै देखिन्छ’ उनले भनिन् । उनले रिटोटलिङमा उस्तै नम्बर आएपछि रिचेक गर्न निवेदन दिइन् । काठमाडौं गएर आफ्नो उत्तरपुस्तिका हेरिन् । पेपर मिसिङ देखिएपछि आस्थाको पेपर देखाउन माग गरेकी थिइन् । तर, देखाउन नमिल्ने भन्दै दिइएन ।
त्रिविका कन्ट्रोलर पुष्पराज जोशीले २०८० वैशाख ४ गते विराटनगर आएर ‘तिम्रो रिजल्ट पोजेटिभ हुन्छ, ढुक्क भएर जाउ’ भनेर सन्ध्यालाई पठाएका थिए । त्यसपछि उनी आएनन् । १४ गते वैशाखतिर आएका जोशीले सन्ध्याको दुईवटा विषयको पेपर र आस्था हमालको एउटा पेपर लिएर आएका थिए । उनले आस्थालाई पुनः परीक्षा दिनुपर्छ भने । ‘पेपर काँही भेटिएन । परीक्षा दिएपछि रेगुलर मार्कसिटमै तिम्रो मार्क एड गर्दिन्छु, स्टार लाग्दैन भन्नुभयो’ उनले भनिन्, ‘दुई÷तीन दिनमै रिजल्ट दिन्छौं भनेपछि बाबुराम तिम्सिना सरले पनि त्यो कुराको जिम्मा लिनुभयो र परीक्षा दिएँ । तर, त्यसको नम्बर जोडिएन ।’
सन्ध्यालाई क्याम्पस प्रमुख तिम्सिनासहित कन्ट्रोलर जोशीले १९ गते एक्लै पुरानै सिम्बल नम्बरमा परीक्षा दिन लगाए । परीक्षामा रिजल्ट उत्तीर्ण नआएको खण्डमा त्यही सिम्बल नम्बरमा एउटा मात्रै विषयको छुट्टै एक जनाले अफिसमा परीक्षा दिन त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परीक्षाको किसिम र ततसम्बन्धी अन्य व्यवस्थाले बन्देज गराएको छ । ‘विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले एकपटक परीक्षा फाराम भरिसकेपछि त्यही तहको त्यही वर्षको पुनः परीक्षा फाराम भरी परीक्षा दिएको पाइएमा त्यसरी पछि भरेको परीक्षा फारामको आधारमा दिएको परीक्षा रद्द गरिनेछ,’ उक्त व्यवस्थामा उल्लेख छ ।
तर, सन्ध्यालाई परीक्षा दिन लगाइयो र भनियो दुई÷तीन दिनमा रिजल्ट पास आउँछ । उनको परीक्षाको रिजल्ट अहिलेसम्म आएको छैन । ‘सरहरुले भनेकै आधारमा मैले परीक्षा पनि दिएँ । तर, दुई÷तीन दिनमा रिजल्ट आउँछ भनेपनि वैशाख १९ गते दिएको परीक्षाको रिजल्ट अहिलेसम्म आएको छैन’ उनले भनिन्, ‘अहिले फोन गर्दा कन्ट्रोलर सरले कल नै रिसिभ गर्नुहुन्न । बाबुराम सर आज–भोलि भन्नुहुन्छ ।’
सन्ध्याका बुबा गौरिशंकर कर्णले दोषीलाई कारबाही हुनुपर्ने माग गरे । ‘मेरो छोरीको मात्रै होइन धेरै ट्यालेन्ट विद्यार्थीहरुको कापि चेन्ज भएको हुनुपर्छ’ उनले भने, ‘मेरो छोरीलाई पो म फेल हुनै सक्दिन भनेर लडेको कारण यो रहस्य बाहिर आएको हो ।’ बाबुराम तिम्सिनाले छोरीको रिजल्टको जिम्मा लिन्छु भनेको भनेर जबर्जस्ती अर्कोए परीक्षा दिन लगाएको भएपनि छोरीले न्याय नपाएको उनको गुनासो छ ।
प्राध्यापक दत्तकी छोरीले पास गरेको रिजल्ट आएकोले पैसाको चलखेल भएको आशङ्का सन्ध्या र परिवारको छ । ‘आफैं गार्ड बसेर, आफैंले उत्तरपुस्तिकामा हस्ताक्षर गरेको छ । टियुको नियम अनुसार छोरीको परीक्षा लिइरहेको ठाउँमा त्यो टिचर छिर्नै पाउँदैन । उ चाहिँ गार्ड नै भएर कसरी बस्यो ?’ कर्णले प्रश्न गरे, ‘सबै उत्तरपुस्तिकामा उसैले हस्ताक्षर गरेको छ । त्यो विषय सार्वजनिक भइसक्दा पनि टियुले कुनै कारबाही गरेको छैन ?’
क्याम्पसका प्रमुख बाबुराम तिम्सिना भने उत्तरपुस्तिका नभेटिएको सत्य भएपनि चोरी गरेको पुष्टि नहुने बताउँछन् । ‘यो पुष्टि हुँदैन । आरोप हो र अनुसन्धानको क्षेत्रमा छ’ उनले भने । उनले सन्ध्याले पुनः परीक्षा दिएको नभई व्याकपेपर दिएको दावी गरे । व्याकपेपरको रिजल्ट टियुको नियमाअनुसार आउने उनको भनाइ छ ।
छोरीले परीक्षा दिइरहेको ठाउँमा बुबा गार्ड बस्न नमिल्ने स्वीकार गर्दै उनले दत्तको छोरी परीक्षार्थी हो भन्ने थाहा नपाउँदा यस्तो भएको जिकिर गरे । विद्यार्थीहरु भने क्याम्पस प्रमुखसहित परीक्षा नियन्त्रण कार्यालयको मिलेमतोमा उत्तरपुस्तिका अर्कैमा गायव गरिएको भन्दै आन्दोलित भएका छन् । विवाद बढ्दै जाँदा मंगलबार साँझ डिग्री क्याम्पस विराटनगरमा सन्ध्याको रिजल्टको विषयलाई लिएर विद्यार्थीले क्याम्पस प्रमुख तिम्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई कार्यालयमै थुनेका थिए ।
छलफल निस्कर्षबिहीन भएपछि थुनिएका तिम्सिना र प्रसाईलाई भने प्रहरीले उद्धार गरेको थियो । त्यसपछि बुधबार बिहानै विद्यार्थीले प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । त्यहीबीचमा बिहान ५ बजे डिग्री क्याम्पस परीसरमा पर्किङ गरी राखेको बा.१७ च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडी जलाइएको छ ।
विद्यार्थी नेता अभिमन्यु यादव उही सिम्बल नम्बरमा विद्यार्थीले दोस्रो परीक्षा दिनै नपाउने बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयको नियमले नै त्यो पाइँदैन । ब्याक पेपरको मात्रै परीक्षा लिने हो । तर, क्याम्पसमा छुट्टै राखेर परीक्षा लिएको छ । सिम्बर नम्बर पहिलेकै छ,’ उनले भने, ‘विद्यार्थीले अदालत जान्छु भनेपछि थामथुम पार्न परीक्षा लिएजस्तो मात्रै देखिएको छ । यो गैरकानूनी छ ।’