निषेधाज्ञाका कारण संविधान दिवसमा गरिँदै आएको प्रभातफेरी कार्यक्रम यसपटक रद्ध

विराटनगर । संविधान दिवसमा कोशी प्रदेश सरकारले प्रभातफेरी नगर्ने भएको छ । अघिल्ला वर्षहरूमा संविधान दिवसको दिन प्रभातफेरी समेत गर्ने गरिएको थियो । सुरक्षा चुनौती देखाउँदै कोशी प्रदेश सरकारले र्‍यालि नगर्ने भएको हो । ‘आज देखी नै विराटनगरमा सुरक्षा चुनौती थपिएको महसुस गरेर सुरक्षा दस्ता बढाएका छौ,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी चुणामणि गुरागाईँले भने ‘सुरक्षा थ्रेट भएको महसुस गरेर यस पट मंचको मात्रै कार्यक्रम गर्न लागेका हौँ ।’ कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले मङ्गलवार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । पहिचानवादीहरूले आज विराटनगरमा मोटरसाइकल ¥यालि सहित कोण सभा गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले भने सोमवारदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । प्रदेशसभा पूर्वमा रहेको देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ ।यस्तै रोड शेष चौकदेखि दक्षिण जतुवा चौक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकिएको छ ।

वर्तमान मुख्यमन्त्री हिकमत कार्कीकै नेतृत्वमा गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गरेको थियो । त्यसपछि आन्दोलन भइरहेको छ । बिचमा केही समय सुस्ताएको आन्दोलन फेरि सुरु भएको हो । मुख्यमन्त्रीमा फेरि कार्कीले नै बहाली गरे लगत्तै पहिचानको आन्दोलन चर्किएको छ । नामकरणसँग असन्तुष्ट रहेको पहिचान पक्षधरले आन्दोलन गर्ने सूचना पाएपछि गत भदौ ३१ गते अन्तरक्रिया गरेर संविधान दिवस मनाउने निर्णय मुख्यमन्त्रीको कार्यालयले गरेको थियो । मुख्यमन्त्रीकै संयोजक्तोमा संविधान दिवस मूल समारोह समिति समेत बनाइएको थियो ।

निषेधाज्ञा लगाएपछि प्रभात फेरी गर्न नमिल्ने भएपछि सरकारले अन्तरक्रिया मात्रै गर्ने भएको हो । निषेधाज्ञामा भेला जुलुस गर्न पाइँदैन । जिल्ला प्रशमसन कार्यालय मोरङले लगाएको निषेधाज्ञामा विराटनगर महानगरपालिकालाई केन्द्र्रविन्दु राखि विविध समूहलगायतबाट विरोध, धर्ना, जलुस गर्न नपाइने उल्लेख गरीएको छ ।

मङ्गलबार, ०२ असोज, २०८०, साँझको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर