प्रहरीसँग बदलाभाव राख्दै हर्क साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन् ।

बुधबारको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा उनले मल्लले स्थानीय सरकारले भनेको नटेरेकाले तत्काल सरुवा गरिदिन माग गरेका हुन् ।

‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने…,’ मेयर साम्पाङले भनेका छन्, ‘… सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने…’,

मल्लमाथि उनले आफूलाई गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई प्रकाउ गरी छानबिन गर्न नमानेको आरोप पनि लगाएका छन् । ‘नगर प्रमुख स्वयम्ले दिएको उजुरी दर्ता नगर्ने लगायत मेरो घरमा आक्रमण गर्दैछ भनेर उपमेयरले जानकारी गराउँदा प्रहरी नपठाएर स्थानीय सरकारको आदेश पालना नगर्ने र शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकोले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय सरकार के शान्ति सुरक्षा गर्न नसकी मुकदर्शक बन्ने डीएसपी मल्ललाई तुरुन्त सरुवा गरी अर्को पठाइदिनहुन अनुरोध छ ।’

पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै आएका मेयर साम्पाङले आफूले भनेको नटेरेपछि मल्लको सरुवामा जोड गरेका हुन् । संघीय सरकार मातहत रहने गरेको प्रहरीले आफ्नो निर्देशन नमानेको आरोप उनले लगाएका हुन् । यसअघि गत भदौ २३ गते डेंगीविरुद्ध अभियान चलाउँदै धरान–१५ पुगेका मेयर साम्पाङलाई वडावासी अशोक लिम्बुले प्रश्न गरेका थिए ।

आफूलाई प्रश्न गरेकै भरमा लिम्बुलाई नगर प्रहरी लगाएर पक्राएका साम्पाङले त्यस घटनालाई जोडेर पनि मल्लको सरुवा मागेका हुन् । उक्त प्रकरणमा पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै छाडिदिएको थियो ।

त्यसपछि दुई दिनअघि उपमेरय अइन्द्रविक्रम बेघाका भाइलाई घरमै आएर आक्रमण गरेको प्रकरणमा पनि मेयरले मल्लको आलोचना गरेका छन् । तर प्रहरीको पटके सूचीमा परिसकेका मेयर बेघाका कान्छा भाइ विष्णु बेघा पनि अहिले प्रहरीको हिरासतमा छन् ।

‘ग्याङ फाइट’मा संलग्न रहेको आरोपमा पक्राउ परेका विष्णु यसअघि पनि विभिन्न मुद्दामा प्रहरी हिरासत र जेल नै पुगेका खुलेको छ । २०७६ सालमा सुजन भुजेलले दिएको उजुरीका आधारमा ज्यान मार्ने उद्योगमा संलग्न विष्णुले ५ हजार जरिवानासहित ६ महिना कैद सजाय भुक्तान गरेका थिए ।

आइतबार, ३१ भदौ, २०८०, बिहानको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर