कृषिमा सहयोग गर्न निजी क्षेत्र तयारः अध्यक्ष राउत

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक नीजि साझेदारी संवाद कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासघ कोशी प्रदेशको अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राउतले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रमा आवश्यक पर्ने स्रोत साधन र शीप तथा उपकरणहरुको विकास र विस्तारमा निजी क्षेत्र सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए ।

कार्यक्रममा मकालू एग्रो एण्ड फुडका सञ्चालक नितेश कार्कीले जुम्लाबाट स्याउ ल्याएर बजारीकरण गर्न थालिएको आयातित स्याउको गुणस्तर बारे नियमन हुनु पर्ने बताए । कृषि अभियन्ता जीवन प्रकाश राईले कृषि उपजमा अनुसन्धान र प्रचारसंगै हुनु पर्ने उल्लेख गरे । धरान कृषि बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बजारीकरणको लागि उद्यमीहरुले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले कृषिमा यूवाहरुलाई आकर्षित गर्न सके कृषिमा व्यवसायीकरण हुन सक्ने बताए । मत्स्य व्यवसायी विष्णु आचार्यले आयातित माछाका कारण यहाँका माछा व्यवसायीहरु मर्कामा परेको समेत उल्लेख गरे । सनम कृषि फार्म पाँचथरकी सञ्चालिका जुनु लावतीले नीजि क्षेत्रको लगानीमा सरकारले सहकार्य गर्नुपर्ने बताइन् ।

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले सार्वजनिक निजी साझेदारी संवादमा उठेका महत्वपूर्ण सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

सचिव दाहालले कोशी प्रदेश अन्तरगत इनरुवादेखि काँकडभिट्टासम्मको करिडोरमा कृषि उत्पादनको बजार व्यवस्थापनमा मण्डीहरुको स्थापना गर्न आवश्यक अध्ययनका लागि प्रदेश सरकार तयार रहेको जानकारी दिदै उत्पादित कृषि वस्तुको उचित भण्डारण क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि विज्ञ डा.राजेन्द्र उप्रेतीले कोशी प्रदेशमा कृषि क्षेत्रको विकासमा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे कार्यपत्र मार्फत अवसरहरु औंल्याउँदै कृषि प्रविधि विकास र प्रसारमा दुई पक्षबीच साझेदारी हुनुपर्नेमा जोड दिए ।

आइतबार, ३१ भदौ, २०८०, बिहानको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर