कोशीका ४० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

विराटनगर ।  कोशी प्रदेशमा ४०.५ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएका छन् । कोशीका ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेकोमा ४०.५ प्रतिशत अर्थात २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य विमा गराएका छन् । सरकारले नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्य राखेको भएपनि प्रचार र विश्वासको वातावरण नबनाउँदा ठूलो जनसंख्या सरकारी सेवा लिन अनिच्छुक देखिएका छन् । कोशी प्रदेशमा २० लाख बढी जनसंख्याले स्वास्थ्य विमा गराएको भएपनि ९ लाख ७० हजार ९३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य विमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।

प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य विमा झापा भएको छ भने कम सोखुखुम्बुमा भएको स्वास्थ्य विमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डिले जानकारी दिए । झापामा सबैभन्दा बढी ६३.५ प्रतिशत अर्थात ६ लाख ३३ हजार ६५८ जनाले, भोजपुरमा २३.४ प्रतिशत अर्थात ३६ हजार ८८७, धनकुटाले ३४ हजार २००, इलाममा १ लाख ३८ हजार ५०६ जनाले स्वास्थ्य विमा गराएका छन् ।

यसैगरी खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३९७, पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लेजुङमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १०२ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य विमा गराएको स्वास्थ्य विमा बोर्डको अभिलेखमा उल्लेख छ ।

प्रदेशमा स्वास्थ्य विमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ । विमा गरिएका मध्ये अति गरिब बीमितको संख्या २४ हजार २६०, ज्येष्ठ नागरिक बीमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङगता भएका ४२ हजार ९१७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् । विमा गराएका मध्ये सेवा लिने विमित ४८ प्रतिशत अर्थात ७ लाख ७० हजार ९३३ जना रहेका छन् ।विमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको छ ।

प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी अस्पताल गरी १०६ वटा स्वास्थ्य सेवाहरुबाट स्वास्थ्य विमाबाट विरामीले सेवा लिदैं आएका छन् । यी स्वास्थ्य संस्थाहरुबाट सेवा दिए वापत तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएको अभिलेखमा देखिन्छ ।

२०७२ चैत २५ गतेबाट कैलाली जिल्लाबाट औपचारिक रुपमा नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । त्यसयता देशभरीमा १९ लाख ९४ हजार ३३८ परिवार स्वास्थ्य विमामा सहभागी बनेका छन् । भने कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको छ ।
क्याप्सन् ः विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला । कोशी प्रदेश सरकार मातहतको प्रयोगशालामा स्वास्थ्य विमा कार्यक्रम नहँुदा विरामीलाई आर्थिक भार थपिएको छ ।

शुक्रबार, २९ भदौ, २०८०, दिउँसोको ०४:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर