संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदवारीमा दुई जना कैदी हत्या प्रकरणका अभयुक्तसँग बयान सकिएको छ । मंगलबार अभयुक्त १५ जनासँग बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत संखुवासभामा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका अभयुक्त बयान सकिएपछि बुधबार (आज) देखि थुनछेक बहस सुरु भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए । कैदी हत्या प्रकरणमा ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध जिल्ला अदालत संखुवासभा चैनपुरमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
जिल्ला न्यायाधीश टेकनाथा गौतमको इजलासमा थुकछेक बहस भइरहेको श्रेस्तेदार केसीले बताए । आधा दर्जन कानुन व्यवसायीहरुले बहस गर्ने उनको भनाइ छ । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे निर्णय लिनेछ ।
कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । त्यस्तै, कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र ईन्द्रध्वज घिमिरे विरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । बाहिर कुटेर दुवै जनालाई कारागारभित्र पठाइएको थियो । गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।