पुण्य पी अधिकारी
विराटनगर महानगरपालिका एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरूको सञ्जाल (सिटिनेट) नेपाल राष्ट्रिय अध्यायको चार वर्षे कार्यकालका लागि यसै साता अध्यक्षमा निर्वाचित भएको छ । यो आम महानगरवासीलाई गर्वको कुरा हो । विश्वका १९ देशका १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनीहरू र अनुसन्धान केन्द्रहरू यो सञ्जालमा आवद्ध छन् । सञ्जालको फैलावट र महत्वलाई आधार मान्ने हो भने यसबाट महानगरले सिकाइ र अनुशरण गर्नुपर्ने प्रशस्त विषय छन् ।
सञ्जालका सदस्य राष्ट्रहरूका सहरमा विकास गरिएका विकासका पूर्वाधारहरूको ज्ञानलाई महानगरपालिको यो फोरमबाट लाभ लिन आवश्यक छ । सञ्जालका सदस्य राष्ट्रहरूका सहरमा खानेपानी, सार्वजनिक यातायात, स्वास्थ्य, विजुलीबत्तीलगायत विकासका आवश्यक पूर्वाधारको व्यवस्थापनलगायतका विषयमा गरिएको दीगो व्यवस्थापनलाई महानगरपालिकाले सिको गर्न आवश्यक छ ।
सिटिनेटले महत्वपूर्ण रूपमा उठाउँदै आएको विषयहरूमा प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन हो । यो विषय सिटिनेटको अध्यक्ष भएको नाताले महानगरले सबैभन्दा बढी प्राथमिकता दिन जरूरी छ ।
विराटनगर महानगरपालिका व्यवस्थित सहरीकरणका हिसाब अन्यन्त कमजोर छ । अहिले पनि महानगरमा खानेपानीको दीगो व्यवस्थापन छैन । खानेपानीको दीगो व्यवस्थापन मेयर नागेश कोइरालालाई चुनौती कै विषय हो । अझ सिटिनेटको अध्यक्षको हैसियतले आधारभूत आवश्यकता भए खानेपानीको दीगो व्यवस्थापन महानगरको मुल मुद्दा हुन आवश्यक छ । आगामी दिन सिटिनेटको कुनै सदस्य राष्ट्रका नगर प्रमुखले विराटनगर महानगरपालिकामा खानेपानीको अवस्थाका बारेमा ज्ञान तथा अनुभव लिने हिसाबले सञ्जालको अध्यक्ष सहर विराटनगरको भ्रमण गरे महानगरलाई कुरीकुरी हुने अवस्था छ ।
२०७१ मा विराटनगरवासीले प्रदूषित पानी खाएका कारण अधिकांश जण्डिसको बिरामी हुनु पर्यो । पञ्चायतकालीन समयमा बिछ्याइएको खानेपानीका पाइप आजपनि प्रयोगमा छन् । जसबाट आएको पानी महानगरवासीले पिउन भन्दा पनि सरसफाइका लागि प्रयोग गरीरहेका छन् । यस्तो अवस्थामा सिटिनेटको अध्यक्ष भइटोपल्ने तर खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि जस वा प्रशंसा अरूलाई किन दिने १ भन्ने हिसाबले महानगरपालिका अघि बढेको भए त्यसले लाभ भन्दा बढी क्षति पुग्ने निश्चित प्राय छ ।
महानगरपालिकामा गरिएको एउटा अध्ययन अनुसार विराटनगरको कूल जनसङ्ख्यामध्ये ७० प्रतिशत जनसङ्ख्याले अहिले पनि खानेपानीका लागि ट्युवेल प्रयोग गरीरहेको छ । अत्यधिक आइरन भएको पानी महानगरवासी बाध्यताले पिइरहेका छन् । जार वा फिल्टरको पानी प्रयोग गर्न नसक्ने अधिकांश महानगरवासीले अत्यधिक आरसेनिक भएको पानी प्रयोग गर्न बाध्य छन् ।
सिटिनेटले मुख्य रूपमा उठाएका विषयहरू दीगो विकास लक्ष्य २०३० सँग प्रत्यक्ष जोडिएका छन् । दीगो विकास लक्ष्यमा स्वच्छ र पिउनयोग्य पानी प्राथमिकतामा नै छ । २०७१ सालमा जण्डिसको प्रकोपबाट विराटनगर जसरी गुज्रिएको थियो, खानेपानीको दीर्घकालीन व्यवस्थाका लागि महानगरको टिम समयमै परिचालित नहुने हो भने त्यो समस्या आगामी दिन आउने निश्चित प्राय छ ।
विराटनगरको खानेपानी व्यवस्थापनका लागि जापानी निकाय जाइकाले उपलब्ध गराउने आर्थिक, प्राविधिक र व्यवहारिक लगानीलाई नगर प्रमुखले प्राथमिकतासाथ अघि बढाउन आवश्यक छ । महानगरको खानेपानी समस्याको दीर्घकालीन हिसाबले समाधान हुने ठूलो धनराशीको परियोजनालाई आफू अनुकूल व्याख्या गर्नु भन्दा पनि काकाकुल महानगरवासीको अवस्थालाई हेरेर परियोजना अघि बढाउन ढिला भइ सकेको छ । अन्यथा सिटिनेट नेपाल अध्यायको अध्यक्ष भएको नाताले महानगरपालिकाको प्रतिष्ठा गर्विलो भन्दा पनि धूमिल भएर जाने निश्चित प्रायः छ ।