विराटनगर । निधन हुनुभन्दा तीन दिनअघि गत भदौ २३ गते नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ धरानमा थिए । पार्टी निकट युवा संघ नेपालको कोशी प्रदेश सम्मेलनमा उनले दिएको मन्तव्य नै जीवनको अन्तिम सार्वजनिक मन्तब्य बन्यो ।
कार्यक्रममा सरकार, शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका विषयमा निकै भावुक सम्बोधन गरेका नेम्बाङले आफूलाई हतारो रहेको उल्लेख गरेका थिए ।
धरानबाट फर्किएपछि बिरामी भएका उनको आज बिहान हृदयघातबाट निधन भएको हो । धरानबाट फर्किएपछि ज्वरो आएर बिरामी भएका उनलाई राति परिवारले शौचालयमा बेहोस अवस्थामा फेला पारेपछि अस्पताल लगेको भएपनि उनको मृत्यु भइसकेको थियो ।
नेम्बाङ धरानमा रहँदा कोशी नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले कार्यक्रमस्थल बाहिर प्रदर्शनसमेत गरेका थिए । त्यसलाई लक्षित गर्दै उनले ढुंगामुढा गरेरमात्रै पहिचान प्राप्त नहुने बताएका थिए । उनले भनेका थिए, ‘हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो ?’
एमाले पहिचानवादी पार्टी भएको दावी गर्दै उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको जिकिर गरेका थिए । फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरू भएकोले यस्तो काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न नमिल्ने उनको दावी थियो ।
उनले संसदलाई सुचारु गर्ने र धेरै कम गर्नुपर्ने बताएका थिए । ‘संसद् कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद् चलाउनका लागि काठमाडौँ पुग्नुपर्छ’ उनले भनेका थिए, ‘हामी जिम्मेवार प्रतिपक्षी भएनौँ भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् त प्रतिपक्षीले संसद् चल्नै दिएन । यसैले पनि मैले त्यहाँ पुग्नैपर्ने छ । मलाई धेरै हतारो छ ।’
सम्बोधनका संसदीय समितिको प्रसङ्ग समेत निकालेर उनले संसदको काम प्रभाबकारी नभएकोप्रति चिन्ता जनाएका थिए । उनले आफ्नै नेतृत्वमा जारी भएको संविधानको पटक–पटक स्मरण गरेका थिए । कार्यक्रममा निकट रहेको असोज ३ अर्थात् संविधान दिवसको स्मरण गरेको उनले भनेका थिए– असोज ३ निकट आएकाले मैले यो कुरा भन्नैपर्छ ।उनले अगाडि भनेका थिएः
‘अब संविधान दिवस हाम्रो ढोकामा आइपुगेको छ । यो अवसरमा म यति कुरा कोट्याउन चाहन्छु । हामीले राम्रो संविधान बनायौँ । तपाईँहरूको आशीर्वादले, तपाईँहरूको शुभकामनाले, तपाईँहरूको मायाले दुवै पटक संविधान सभाको अध्यक्षता गर्ने, ३१ वटै राजनीतिक दलले सर्वसम्मतिले मलाई संविधान सभा अध्यक्ष बनाए । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख हामीले बनायौ र जारी गर्यौँ ।
हामीले ढुक्कसँग, विनम्रतासँग, कुनै अहम् नराखीकन जनताको बीचमा यो कुरा भन्न सक्नुपर्छ–जनताले जनताका लागि बनाएको संविधान हो । त्यो संविधान पहिलो पटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौँ । समावेशी संविधानसभाबाट शून्यबाट माथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताका लागि हामीले संविधान बनायौँ ।
नेपालको यो संविधान हाम्रो नेतृत्व, पहल र प्रयासमा जनताले बनाएको संविधान हो । तराई मधेसदेखि हिमालसम्मका जाती, भाषा, धर्म, संस्कृतिका जनतालाई देखाएर भन्नुस्–यो लिम्बुले बनाएको संविधान, राईले बनाएको संविधान, यो ब्राह्मणले बनाएको संविधान,यो क्षेत्रीले बनाएको, दलितले बनाएको,महिलाले बनाएको, तराई मधेसदेखि हिमालसम्मका सबै जाती भाषा, धर्म संस्कृतिका जनताले बनाएको संविधान ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता,समावेशिता फेरि म दोहोर्उँछु–पहिलो पटक नेपालको इतिहासमा समावेशी संविधान । अनि संविधान समावेशी बनाउने पार्टीलाई, संविधान समावेशी बनाउने पहिलो पटक नेपालको इतिहासमा त्यो पार्टीलाई तँ समावेशी भइनस् कोही मित्रले भन्छ भने तपाई हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?
ढुक्कै भएर अगाडि बढ्नुस् कमरेडहरू, युवा मित्रहरू । यो देशको इतिहासमा मात्रै होइन, विश्वकै इतिहासमा यतिको समावेशी संविधान बनेको छैन । व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा, सम्बन्धित कानुन कहीँ कतै कमीकमजोरी भएका होलान् । ती कमीकमजोरी हामी सच्चाउँछौ र अगाडि बढ्छौ भनेर अघि बढ्दा समावेशी संविधान बनाउने पार्टीलाई, त्यसका नेतालाई यो चाही समावेशी भएन भनेर कसैले चुनौती दिँदैमा हामीले निधार खुम्च्याउनुपर्ने हो र ? हामी त हाँसेर, ढुक्क भएर भन्नुपर्छ हामीले यति काम गरेका छौ लौ भन– म त भन्ने गर्छु न भुतो न भविष्य !
पहिचानको दुनियाँमा, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौ त्यति अरू कसैले पनि गर्नुभएको छैन । कसैलाई मैले हेपेको होइन, हामीले मौका पायौँ, गरेर देखायौँ । भन्नुस् धर्मनिरपेक्षता कसले घोषणा गर्यो ? धर्मनिरपेक्षता हामीले घोषणा गर्यौ । जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरूको आशीर्वाद र शुभकामनाले ।
त्यो पुनर्स्थापित प्रतिनिधिसभाको मै सभामुख थिएँ । निर्विवाद र सर्वसम्मतिले म सभामुख थिएँ । त्यहाँबाट घोषणा भयो । कोही कोही साथीभाइहरूले सुवासले खुसुक्कै धर्मनिरपेक्षता छिराइदियो पनि भने । म त्यतातिर जान चाहन्नँ ।
त्यस्ता केही साथीहरू हिजो अस्ति चुनावमा पनि पुगेका थिए । यो ताल त दक्षिणपट्टीबाट पनि केही साथीहरू आउनुभयो रे । यो धर्मनिरपेक्षता घुसाउने सुवासलाई हराउनुपर्छ भनेर । मलाई थाहा छैन म अलिक बिर्सने मान्छे । को साथीहरू हुन् ? के हुन् कसो हुन् ? कुनै दिन समय लिएर अलिक व्यापक रूपमा भनौला यसबारेमा । म कहिले रिस नउठ्ने मान्छे । त्यसैले रिसाइनँ ।
तर, अलिअलि रिस उठ्यो होला जम्मै कुरा सुनाएर के भने त भन्दा यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन् यिनीहरू । म त कम्युनिस्ट परेँ । एमालेको इमानदार कार्यकर्ता । मलाई त स्वर्ग नर्कमा विश्वास छैन । तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाही सोझै नर्क जान्छन् भन्दिएँ मैले । त्यति रिसाएको त भएन नि हैन ?
कार्यक्रममा नेम्वाङले इलाम क्याम्पसमा स्ववियू सभापति भएको प्रसंगदेखि त्रिचन्द्र कलेजमा आइएस्सी पास गरेको स्मरण गरेका थिए । उनले आफू अखिलको नेतृत्वमा हुँदा झापा सुनसरी धनकुटा हुँदै इलाम पुगेको सम्झदै झापामा भएको हत्या काण्डको प्रसंग पनि सुनाएका थिए । उनले भनेका थिए प्रहरीले झापा हत्याकाण्ड भएको सुखानीमा अफूहरूलाई पक्राउ गरेर प्रहरीले २ घण्टा रोकेको सम्झना सुनाए ।
धरानप्रति ठूलो विश्वास रहेको बताए । यो बीचमा अगाडि बढ्यौं कि पछाडि गयौ भन्ने कुरा छलफल गर्नुपर्ने सुनाए । धरान भन्नेवित्तिकै एक प्रकारको जोश आउने गरेको सम्झना पनि सुनाए । नेम्वाङले तराई मधेशदेखि हिमालसम्मका विविध जाति, विविध भाषा, धर्म र संस्कृति भएकाहरूलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउन उनको आग्रह थियो ।