विराटनगर । मुलुकलाई समाजवादी ध्रुवीकरणतिर अघि बढाउने लक्ष्यसहित सक्रियता बढाएका दलहरुको समाजवादी मोर्चाले सोमबार (आज) विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
सत्तारुढ चार राजनीतिक दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् ।
विराटनगर सभालाई चार दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । मोर्चाले आयोजना गर्ने सन्देशसभाको सम्पूण तयारी पूरा भएको मोर्चा सम्बद्ध दल तथा मोर्चाको प्रदेश संयोजक जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले जानकारी दिए ।सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।
सन्देशसभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन् । पहाडी जिल्लाबाट भने प्रतिनिधिमूलक रुपमा कार्यकर्ताहरुको सहभागिता रहनेछ ।