अस्थिर’ कोशी प्रदेश

पहिलो कार्यकालको ५ वर्षे रेकर्ड दोस्रो कार्यकालको ९ महिनामै ब्रेक

विराटनगर । कोशी प्रदेशको पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकाल झनै अस्थिर देखिएको छ । पहिलो कार्यकालको ५ वर्षको अवधिमा कोशी प्रदेशमा तीन जना मुख्यमन्त्री बनेका थिए र साढे दुई दर्जनबढी मन्त्री बनेका थिए ।

तर, दोस्रो कार्यकालको ९ महिनामै कोशी प्रदेशमा चौथोपटक गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्ति भएका छन् । यसअघि दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा पनि उनै कार्की नियुक्त भएका थिए । दोस्रो र तेस्रो मुख्यमन्त्रीको रुपमा भने काँग्रेस संसदीय दलका नेता उद्धब थापा नियुक्त भए । कार्की र थापाले आफूलाई चाहिने बहुमत पुर्याउन नसकेकै कारण बर्खास्त भएका हुन् । उनै थापा र कार्कीको दोहोरी अझै चलिरहेको छ ।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनै पनि दलले प्रदेशमा बहुमत पाउन नसक्दा पुस २४ मा एमाले नेता कार्की नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, बीचैमा माओवादी र जसपाले साथ छाडेपछि प्रदेशसभामा लिएको विश्वासको मत पु¥याउन नसकेर कार्की असार १५ मा पदमुक्त बने ।त्यसपछि असार २१ मा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका थिए । सभामुखलाई पनि हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वोच्च अदालतले पदमुक्त गरिदियो ।

लगत्तै सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बने। भदौ ४ मा विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवारलगायतका एमाले–राप्रपाका ८ जना ज्येष्ठ सदस्य अनुपस्थित रहे । सत्ता गठबन्धनले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई पनि मुख्यमन्त्रीको पक्षमा मत दिन लगाएको थियो । बैठकको अध्यक्षता गरेका मन्सुरीको मतले पनि थापालाई टिकाउन सकेन ।

भदौ २१ गते बिहीबार सर्वोच्च अदालतले थापाको नियुक्ति फेरि बदर गरेर संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । त्यही परमादेशपछि एमाले नेता कार्की ७० दिनपछि सरकारको नेतृत्वमा पुनः फर्किएका छन् ।

तर, यसअघि प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेर मुख्यमन्त्रीबाट पदमुक्त बनेका कार्कीले पुनः विश्वासको मत पाउने सम्भावना कमजोर छ । किनकी उनलाई राप्रपाले पनि साथ दिने सम्भावना कमजोर बन्दै गएको छ । ‘कोशीमा राजनीतिक स्थायित्व चाहिएको हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ, राप्रपाको प्रदेश र सरकार दुवै प्राथमिकताको विषय नै होइन त्यसैले उपधारा ५ मा नपुगेसम्म राप्रपाले कुनै धारणा बनाउन जरुरी ठानेको छैन,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् ।
शपथ गराउनै व्यस्त प्रदेश प्रमुखको कार्यालय

२०८० साल असारयता कोशी प्रदेश प्रमुखको कार्यालय मुख्यमन्त्री नियुक्त गर्ने, मन्त्रिपरिषद् विस्तार गर्ने, विश्वासको मत लिने र फेरि मुख्यमन्त्री र मन्त्री नियुक्ति र शपथ गर्नेजस्तो काममा व्यस्त छ । कोशी प्रदेशमा असारयता हरेक महिना नयाँ सरकार बनिरहेको छ । यो क्रम कात्तिक महिनासम्म दोहोरिरहने सम्भावना छ ।

आफू मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक कार्कीले २०७९ पुस २५ गते एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । दोस्रो पटक मुख्यमन्त्री कार्कीले पुस २९ गते माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र एमालेबाट बुद्धिकुमार राजभण्डारी मन्त्री नियुक्त भए । उनीहरुले २०७९ माघ ६ गते विभागीय जिम्मेवारी पाए ।मुख्यमन्त्रीबाट कार्की २०८० साल असार १५ गते पदमुक्त बनेपछि बनेको थापा नेतृत्वको सरकारकामा २०८० असार २२ गते २ जना मन्त्रीहरु नेकपा एसबाट कमलप्रसाद जबेगू र काँग्रेसबाट प्रदिपकुमार सुनुवार नियुक्त भए । त्यसको २ दिनपछि असार २४ गते पुनः माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की र काँग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भए ।

जसमध्ये आचार्यले मात्रै विभागीय जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्रालयको पाएका थिए । पुनः मुख्यमन्त्री थापा २०८० साउन ११ गतेको सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भए ।उनै थापा साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भए । थापाले साउन १७ गते मन्त्रीहरु माओवादीबाट बाबुराम गौतम, कांग्रेसबाट प्रदिपकुमार सुनुवार र नेकपा एसबाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरे । मुख्यमन्त्री थापाले साउन २६ गते पुनः जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बूलाई मन्त्री नियुक्त गराउँदै मन्त्रीमण्डल पुनःगठन गरे । फेरि प्रदेशसभाका जेष्ठ सदस्यसमेत रहेका गयानन्द मण्डललाई मुख्यमन्त्री थापाले साउन ३१ गते राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

सर्वोच्चले भदौ २१ गते मुख्यमन्त्री थापालाई पदमुक्त गर्दै संविधानको धारा १६८ (३) अनुसार एमाले दलका नेता कार्कीलाई पुनः मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । उक्त परमादेश अनुसार कार्कीलाई भदौ २२ गते नै मुख्यमन्त्री नियुक्ति गरियो । मन्त्री कार्कीले सोही दिन शपथग्रहण गर्दै ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । जसमा एमालेका तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राई रहेका छन् ।

यसरी कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ९ महिनामा ४ पटक मुख्यमन्त्री परिवर्तन र ९ पटक मन्त्रीमण्डल पुनःगठन भएको छ । जसमा नयाँ १५ जना मन्त्री भएका छन् भने केही मन्त्री तिलकुमार मेन्याङ्बो, जीवन आचार्य, कमल प्रसाद जबेगु र निर्मला लिम्बू भने दुई–दुई पटक दोहोरिएका छन् ।

सोमबार, २५ भदौ, २०८०, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर