कैदी मृत्यु प्रकरणः अभियुक्तहरुको बयान लिन सुरु

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदवारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्तहरुसँग बयान लिने कार्य सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतबार बिहान ११ बजेबाट बयान लिन थालिएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ जना प्रहरी र ८ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चैनपुरमा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो ।

जिल्ला न्यायाधीस टेकनाथ गौतको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए । घटनामा संम्लग्न भएको अभियोग लागेका १५ जनालाई अभियुक्तसँग बयान थालिएको श्रेस्तेदार केसीले बताए । अभियुक्तको बयान सकिन चार दिनसम्म लाग्न सक्ने श्रेस्तेदार केसीले बताए । घटनामा संम्लग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोष भण्डारीले शुक्रबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।
कर्तब्य ज्यान मुद्दामा कारागारको सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्ज असइ (सहायक निरीक्षक) मोरङको कटहरी गाउँपालिका–१ महेशपुर घर भएका लक्ष्मी चौधरी, प्रहरी हवल्दार खोटाङको खोटेहाङ गाउँपालिका–८ का राजकुमार श्रेष्ठ, प्रहरी जवानहरू इलामको इलाम नगरपालिका–११ का सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ का दमनसिंह राई, सुनसरीको कोसी गाउँपालिका–५ का पवनकुमार महतो, उदयपुरको लिम्चुबुङ गाउँपालिका–४ का नसुन राई र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का मनिष राईलाई प्रतिवादी बनाइएको छ । भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गर्दै यातना दिएको अनुसन्धानबाट पत्ता लागेको छ । कुटपिट गरेको सीसी क्यामेरा फुटेजसमेत छ ।

कारागारका चौकीदारसहित ८ जना कैदीलाई समेत मुद्दामा प्रतिवादी बनाइएको छ । चौकीदार संखुवासभाको खाँदबारी नगरपालिका–२ चेवाका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, बडानाइके खाँदबारी–९ गैरीगाउँका २६ वर्षीय अनिष शर्मा कट्टेल तथा सहनाइकेहरू भोजपुरको भोजपुर नगरपालिका–१० भैंसीपंखाका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, सङ्खुवासभाको मकालु गाउँपालिका–५ खोलाखानीका २३ वर्षीय विक्रम भनिने सुमन सारुमगर, चैनपुर नगरपालिका–३ का २९ वर्षीय टीकाराम भनिने टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली गाउँका ४० वर्षीय नवीनकुमार राई र कैदीहरू खाँदबारी नगरपालिका–६ तल्लोपांठाका ४१ वर्षीय इन्द्रध्वज घिमिरे एवं मादी नगरपालिका–५ बेतिनीका २१ वर्षीय मीन भनिने मीनबहादुर तामाङ मुद्दाका प्रतिवादी बनाइएको छ । गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
छ जनाविरुद्ध मुद्दा नचल्ने

अनुसन्धानका क्रममा निगरानीमा राखिएको भएपनि जिल्ला कारागारका तीन जना कर्मचारी र तीन जना प्रहरी विरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ । निमित्त जेलर राजेन्द्र घिमिरे भदौ ६ गते पक्राउ परेका थिए । उनलाई त्यही दिन हाजीर जमानीमा छाडिएको थियो । कारागारका सहायक कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्की भदौ १३ गते पक्राउ परेका थिए । प्रहरी जवानहरू कार्की, विक र सोङमीलाई अनुसन्धानका क्रममा भदौ १४ गते पक्राउ गरिएको थियो । निमित्त जेलर घिमिरेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत संखुवासभाले कारागारका तीन कर्मचारी र तीन जना प्रहरीलाई शुक्रबार छाडिसकेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताए ।

भदौ २५, २०८०, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर