गणेशलम्साल
मोरङको ६(१) निर्वाचन क्षेत्रका प्रदेश सांसद जीवन आचार्यले आफूले प्रतिबद्धता गरेको रिङरोड निर्माण कार्यलाई आफ्नै कार्यकालमा पूरा गरेरै छाड्ने भन्दै निरन्तर सक्रिय छन् । रिङरोड बनाउन आवश्यक स्रोत जुटाउन उनी अनवरत लागिपरेका छन् । अहिलेसम्म ३० करोड रुपैयाँको स्रोत जुटिसकेको छ । थप बजेट सुनिश्चितता गर्न प्रयत्न जारी राखेका छन् ।
२६ वर्षअघि सुरु भएर अलपत्र छाडिएको रिङरोड निर्माण कार्यलाई गौरवको आयोजनाको रुपमा राख्न उनले पहल बढाएका छन् । विराटनगर रिङरोड सम्पन्न गर्न पाँच अर्ब खर्च लाग्ने अनुमान छ जुन प्रदेश सरकारको क्षमताभन्दा बाहिरको विषय हो । संघीय सरकारसँग पहल नगरी यो परियोजना सम्भव छैन ।
विराटनगर रिङरोड बनाउने प्रतिबद्धता जनाएका धेरै नेता दिवंगत भइसकेका छन् । पूर्व प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अहिले हुनुहुन्न । यो विषयलाई पटक पटक उठाइरहेका नेता विजयकुमार गच्छदार, अर्थमन्त्री महेश आचार्यदेखि डा. शेखर कोइराला, लालबाबु पण्डितलगायत धेरै नेताहरुले यो आयोजना पूरा गर्ने विश्वास जनतालाई दिलाएकै हुन् तर कहिल्यै पनि यसले प्राथमिकता पाउन सकेन । यो आयोजना निर्माण गर्न यहाँका व्यवसायिक संघ संस्थाहरुको उतिकै जोड रहँदै आएको छ ।
रहेक पटकको निर्वाचनमा नेताहरुले यो विषय नछुटाइ उठाउने गरेका छन् । तर कहिल्यै आयोजना अगाडि बढ्न सकेन । मोरङको ६ मध्ये तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पाँच प्रदेश निर्वाचन क्षेत्र जोड्ने यो आयोजनाको ४३ किलोमिटर दूरीमध्ये केही किलोमिटर ट्याक अझै खुल्न बाँकी छ । सिंघिया खोलमा पुलहरु बन्न बाँकी छन् ।
अहिले हात्तीमुढादेखि रानीसम्म खोलिएको ट्रयाक कतिपय ठाउँमा परिएको छ । कालोपत्रे भएको १२ किलोमिटर खण्डहरु भत्किन थालिसकेको छ । २५ किलोमिटर ग्राभेल सडक पनि जीर्ण बन्दै गएको छ । कतिपय ठाउँमा स्थानीय सडक जोतेर खेती गर्न थालेका छन् ।
विराटनगरमा बढ्दो सवारी आवागमनको चाप कम गर्न ‘वाईपास रोड’ को रुपमा यो सडकलाई प्रयोग गर्ने योजना थियो । २०५४ सालमा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेर सुरु भएको सडक कसको पालामा उद्घाटन होला आजै अनुमान गर्न गाह्रो छ ।
गुणस्तरीय रिङरोड निर्माण नहुँदा कोशी प्रदेशको राजधानी बनिसकेको औधोगिक महानगर विराटनगरमा ट्राफिक र शहरी विकासको समस्या बढ्दो छ । दैनिक सयौंको संख्यामा भन्सारबाट आउने र भारतर्फ जाने मालवाहक सवारी साधनहरुको भारले कोशी राजमार्गको अधिकांश सडक खण्डमा क्षति पुगेको छ ।
यसैले विराटनगरबासीका लागि मात्र नभएर आसपासका पालिकाहरु कटहरी, बुढीगंगा , ग्रामथानका लागि पनि रिङरोड एउटा आवश्यक सपना हो । तर निर्माण सम्पन्न नहुँदा यो निन्द्रमा देखिने सपना जस्तै भैरहेको छ । यो जनताको सपना साकार पार्न पछिल्लो समय सांसद जीवन आचार्य प्रयत्नशील छन् । जसरी पनि रिङरोड पूरा गरिछाड्ने प्रतिबद्धता उनमा छ । जुन विश्वास प्रसंशनीय छ । आचार्यको यो प्रयत्न सफल बनोस् हाम्रो पनि शुभकामना ।