काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले, काँग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझाव दिन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित छलफलपछि उनले कोशी प्रदेशप्रति वितृष्णा बढाउने र कोशीमा मध्यावधि निर्वाचनमा जाने दुवै मनसाय एमालेको नभएकोले काँग्रेससँग सहकार्य गर्न तयार रहेको बताए । प्रदेशमा निषेधको राजनीति बन्द गर्नुपर्ने धारणा राख्दै उनले काँग्रेसलाई सरकार निर्माणमा मनाउने प्रयत्न गर्ने बताए ।
उनले भने, ‘त्यहाँ (कोशी) मा जुन ढङ्गको शक्ति सन्तुलनको अवस्था छ । निषेध गरेर जाने खालको बाटोमा नजाउ । उहाँहरूले निषेध गर्न कोसिस गर्नुभयो, संविधान मिच्ने कामहरू भए त्यसको परिणाम आज पनि हामीले भोगिरहेका छौ । अब पनि त्यही बाटोमा जाने हो भने प्रदेशप्रतिको वितृष्णा एकदमै बढेर जान्छ या त त्यसको समाधानका निम्ति नयाँ चुनावमा जानुपर्ने हुन्छ । दुवै कुरा अहिले हाम्रो प्राथमिकतामा छैनन् ।’
उनले मध्यावधि निर्वाचनमा जाने रुचि एमालेको नभएको र प्रदेशप्रति नागरिकको वितृष्णा बढोस् भन्ने पनि नचाहेको स्पष्ट पार्दै प्रदेशमा सरकार निर्माणको लागि नेपाली काँग्रेसको साथ माग्ने बताए । उनले प्रदेशको हित र संविधानको रक्षार्थ कोशीमा एमालेलाई काँग्रेसले जिम्मेवार रूपमा साथ दिनुपर्ने धारणा राखे ।
‘मध्यावधिमा जाने पनि हाम्रो रुचि छैन र प्रदेशप्रति नै वितृष्णा बढोस् भन्ने पनि हामी चाहँदैनौ । त्यसैले नेपाली काँग्रेसले एउटा जिम्मेवार भूमिका खेलोस् भन्ने हाम्रो प्रयास हुने छ । हामी उहाँहरूसँग संवादमा छौँ’, ज्ञवालीले भने ।