माइजोगमाइका प्रशासकीय प्रमुखलाई कारबाही सिफारिस

इलाम । इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनगरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निश्कर्ष निकाल्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिइने गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिए ।

लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभएसम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको उनले जानकारी दिए । गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्माबीच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।

भिडियो बाहिरिएपछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो । गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा बाहिरिएको भिडियो सीसीटीभी फुटेज होकि होइन भनेर छानविन गर्न र भिडियो कसरी बाहिरियो भन्ने पत्ता लागउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने भएको छ ।

गाउँपालिकाले गत साउन १८ गते गाउँपालिकामा भएको आगलागिको छानविन गर्नका लागि समेत प्राविधकको सहयोग लिनेभएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिए । यसअघि गाउँपालिका अध्यक्ष थेवेको अध्यक्षतामा समिति गठन भए पनि कुनै प्रतिवेदन सार्वजनिक भएको थिएन । आगलागिबाट १३ लाख बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

अनैतिक गतिविधिको प्रमाण नष्ट गर्न तत्कालीन प्रशासकीय अधिकृत राईले आगजनी गरेको भनेर समेत विरोध भइरहेको छ । अधिकृत राई यसअघि नै सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका गइसकेका छन् । लेखा अधिकृत राईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको र उनीपनि भिडियो बाहिरीएकै दिन कार्यालय छाडेर काठमाडौं गएको विज्ञप्ति मार्फत गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पछिल्लो क्रियाकलापबाट विचलित नहुँन गाउँवासी र कर्मचारीलाई आग्रह गरेको छ ।

भदौ २४, २०८०, बिहानको ०७:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर