डा. बालकृष्ण साह
तेली कल्याण समाज नेपालको नाम मेरो लागि नयाँ थियो । अधिवेशनको ४–५ दिन अगाडि मात्र सो समाजको पदाधिकारी एक जनाले मलाई फोन गरेर भेट्न खोजेको बताएका थिए । मैले अस्पतालमा नै भेट्न बोलाएको थिए । उहाँहरु अस्पतालमा नै भेटन आउनुभयो र त्यउसमध्ये एकजना तत्कालीन अध्यक्ष नरेन्द्र साह हुनुहुन्थ्यो । उहाँसँगको त्यो पहिलो भेट थियो । खासै धेरै कुरा भएन, अधिवेशनको निम्ता दिनुभयो र सदस्य बन्न तथा अधिवेशनलाई सफल बनाउन सहयोग माग्नुभयो । मैले औपचारिकता पूरा गरें ।
२०७९ भाद्र २५, मैले अझ बिर्सेको छैन । तेली कल्याण समाज नेपालको पाचौ अधिवेशन । शनिबार, आफ्नै घरयासी तथा पारिवारीक कामकाजलाई छुट्याएको दिन भएकाले घरमा नै थिएँ । बिहानको खानापछि करिव ११ बजे श्रीमतीले अधिवेशनमा जाने कि भनी सम्झाइन् । विराटनगरमा बसोबास गरेको ९–१० वर्ष भए पनि सजातीय व्यक्तिहरुसँग खासै चिनजान थिएन । ‘साह समाज’ भन्ने एउटा संस्थाले गर्ने गरेको होली कार्यक्रममा १–२ पटक सहभागी भएको थिएँ तर खासै आत्मियता बनाउन सकेको थिइन । साँच्चै भन्ने हो भने ‘न मलाई सोधिएको थियो, न त मैले नै सक्रियता देखाएको थिएँ ।’ त्यसैले अधिवेशनमा जाने मन थिएन । ‘लायन्सदेखि अनेक संघसंस्थाको कार्यक्रममा जानुहुन्छ, आफ्नो जातको कार्यक्रममा चाहिँ किन नजाने ?’ श्रीमतीको यो तर्कले मन छोयो । हो, हाम्रो जातीय संगठन कमजोर छ, तर यसको कारण हामी जस्ता व्यक्तिहरु सक्रिय नभएर पनि त हो जस्तो लाग्यो । अनि ८ बजेदेखि सुरु हुने भनिएको अधिवेशनमा ११ः३० तिर भए पनि पुगें । मारवाडी सेवा सदनमा करिव ५०० को उपस्थिति थियो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञको हैसियतले मलाई पनि स्टेजमा अतिथि बनाइयो । व्यक्तिगत रुपमा धेरैलाई नचिनेकाले समस्या होला भनेको, त्यसो हुन पाएनन् । तर यो होली मिलन गराउने समाज नभई तेली कल्याण समाज रहेछ । यसको विधान अनुसार नै पाँचौ जिल्ला अधिवेशन रहेछ र अधिवेशनमा केन्द्रका प्रतिनिधि भएर केन्द्रीय महासचिवको उपस्थिति रहेछ । यसमा विराटनगर भन्दा पनि विराटनगर बाहिर रंगेली, जहदा, सुनबर्षी, रतुवामाई, सुन्दरहरैंचा, बेलबारी, बुढिगंगा तिरका सजातियको उपस्थिति बढि रहेछ ।
विभिन्न नाममा विभिन्न निकायमा दर्ता भएर स्वातरुपमा सञ्चालन हुदै आएका तेली जातीय संगठनहरुलाई जोड्दै २०५४ सालमा तेली कल्याण समाज नेपाल भएको र यसले गरेका गतिविधिहरुमा यसका पदाधिकारी, प्रवेक्षकहरुले प्रकास पारे । मेरो पहिलो अनुभव र सिकाइ थियो । वक्तहरुमा मेरो पनि नाम जोडियो । जातीय एकता र संगठन विस्तारका लागि नयाँ तरिकाले जानुपर्ने, युवा वर्गलाई संगठनमा अवसर दिनुपर्ने कुरा मैले पनि राखें । मेरा योजना र मन्तव्यले तथा मलाई नजिकबाट चिनेका केहीले मलाई नै अध्यक्षका रुपमा अगाडि बढ्न प्रस्ताव गरे । र अन्ततः युवाहरुको बाहुल्यमा मेरो नेतृत्वमा नै जिल्ला समिति बन्यो । आज १ वर्ष पनि पुगिसकेको छ ।
विगत १ वर्षमा जिल्ला कार्यसमिति मोरङले जातीय एकता र संगठन विस्तारका लागि सदस्यता बृद्धि, कार्य विभाजन, आर्थिक सुदृढीकरण, सेवा र ब्राण्डिङ्ग कार्यमा एकैसाथ कार्यक्रमहरु अगाडि बढाएको छ । संस्थागत सदस्य नै संस्थाको मुख्य सम्पति हो । जनगणना २०७८ का अनुसार नेपालमा तेली समुदायको कुल जनसंख्या ४ लाख ३१ हजार ३ सय ४७ छ । जुन कुल जनसंख्याको १ दशमलव ४८ प्रतिशत हो । मोरङमा १८ हजार ७ सय ५८ तेली जातीका सदस्य बसोबास गर्दै गरेको जनगणनाले देखाएको छ । जातीय हिसाबले सदस्य भए तापनि संस्थाको सदस्य लिएका मात्रै संगठनका सदस्य हुने भएकाले सदस्यहरु बढाउने लक्ष्य लिएका जिल्ला समितिले विराटनगर, सुनवर्षी, रंगेली, जहदा, रतुवामाई तथा सुन्दरहरैचासँग समन्वय गर्दै सदस्यता बनाउने कामलाइ तीव्रता दिइएको छ । अधिवेशन नभएको ७ हजार ७ सय ५७ जनसंख्या भएको विराटनगर र ८ सय १० जनसंख्या भएको सुन्दरहरैंचामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । साधारण सदस्यहरुसंगै आजीवन सदस्यहरु तथा संरक्षक सदस्यहरु थपेका छन् । महिला तथा युवाहरुलाई संगठनमा जोड्न जिल्ला महिला तर्दथ समितिको गठन तथा युवा समितिको तयारी गर्दै छ ।
सजातीयहरुको सेवा तथा तेली कल्याण समाज नेपाललाई समुदायमा चिनाउन शिक्षा उपसमिति, स्वास्थ्य उपसमिति गठन गरी लक्षित वर्गमा सेवा पु¥याउने कोसिस गरिएको छ । अमिन तथा सर्वेक्षकहरुको लोकसेवालाई मध्यनजर गर्दै ‘निःशुल्क लोकसेवा तयारी कक्षा’, एसईई दिएका विद्यार्थीहरुलाई ‘निःशुल्क ब्रिजकोर्ष’, तथा निबन्ध प्रतियोगिता सम्पन्न गरेका छन् । जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार, उच्च पदस्त व्यक्तित्वहरुलाई सम्मान गर्दै सामुहिक वनभोज र महत्वपूर्ण जानकारी सहितको क्यालेन्डर प्रकासन समेत गरेका छन् । पाँचौ अधिवेशनसम्म आईपुग्दा समेत समाजको नाममा बैंक खाता सञ्चालनमा नरहेको र कुनै संचित रहेको जिल्ला समितिको खातामा १ लाख भन्दा बढि रकम सञ्चय भएको छ । गर्नुपर्ने कामहरु अझै धेरै छन् । बुढीगंगा, ग्रामथान, कटहरी र बेलबारीमा संगठन बिस्तार गर्नुपर्ने, जितिया र छठ जस्ता पर्वहरुलाई सहजीकरण गर्नुपर्ने, धर्मशाला, शिक्षा तथा स्वास्थ्यमा सहजिकरण, दहेज र अशंका कारण फुटेका परिवारलाई जोड्नुपर्ने, समाजिक न्याय र पहिचानलाई नेतृत्व दिनुपर्ने जस्ता कामहरुमा पाइला सार्नुपर्ने छ । ३ बर्षको कार्यकाल रहेको मेरो नेतृत्वको यस समितिले आफ्नो कार्यकालमा नै संस्थागत गति दिँदै तेलीहरुको पहिचान सहित संगठन र नेतृत्वमा महत्वपूर्ण स्थान स्थापित गरिसक्ने लक्ष्य लिएको छ । (साह तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष हुन् ।)