बहुमत गुमाएर पदमुक्त भएको ७० दिनपछि कार्कीको ‘कमब्याक’

विराटनगर । ‘परमादेशी गठबन्धन’को आरोप लगाउँदै भाषण गरिरहने कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः अदालतको परमादेशबाटै मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

कार्कीको माग बमोजिम नै मुख्यमन्त्री उद्धब थापालाई बर्खास्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यस्तो परमादेश दिएको हो । अब उनै कार्की पुनः कोशी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि नियुक्त हुनेछन् ।

यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रुपमा २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा सत्ताच्यूत भएका थिए । गत असार १५ गते प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको थियो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि उनी पदमुक्त बनेका थिए । पुस २४ गते नियुक्त भएका उनले पुस २५ गते शपथ ग्रहण गरेका थिए ।

अब पनि कार्कीले बहुमत पुर्याउन सकस हुने देखिन्छ । प्रदेशसभा अहिलेसम्म सभामुख बिहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन् । त्यो अवस्थामा कार्कीलाई राप्रपाको साथ रहिरहेको अवस्थमा पनि ४५ सांसदको मात्र समर्थन मिल्ने आवस्था छ । केन्द्रमा सत्ता गठबन्धनसँग नजिक हुँदै गएको राप्रपाले पनि एमाले दलका नेता कार्कीलाई सहयोग गर्छ या गर्दैन भन्ने विषय नै अन्यौलमा छ ।

एमालेको कोशी प्रदेशमा हालको सगठबन्धन दल काँग्रेस, माओवादी, नेकपा (एस) र जसपासँग राम्रो सम्बन्ध छैन । यसअघि नै प्रदेशको नामकरणको विषयमा विवादित बनेका कार्कीका लागि पहिचानको पक्ष लिँदै गएका साना दल फकाउन झनै सकस बन्नेछ ।

कोशी प्रदेशसभाले अहिलेसम्म आफ्नै नियमावली बनाउन सकेको छैन । कोशी प्रदेशसभाको संसदीय समिति गठनबारे अझै टुङ्गो लागेको छैन । संसद सञ्चालन नियमावली मस्यौदा समितिले प्रदेशसभामा मस्यौदा बुझाइसकेको छ । प्रदेशसभाको दोस्रो अधिवेशनमा पनि ५ वटा बैठक बसेर बजेट नल्याइ अधिवेशन अन्त्य गरियो । प्रदेशसभामा आफू स्पष्ट अल्पमतमा परेपछि मुख्यमन्त्री कार्कीले प्रदेशसभाको अधिवेशन नै जेठ ३१ गते अन्त्य गरिदिए । जेठको ३२ गते कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्यायो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न नसक्दा भदौ १० गतेदेखि कोशी प्रदेश बजेट बिहीनताको अवस्थामा छ ।

सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा मुख्यमन्त्री कार्कीले ‘मेरो प्रयास अब सर्वदलीय सरकार बनाउने हुनेछ, सबै दललाई म आह्वान गर्न चाहन्छु’ भनेका थिए । तर, त्यसतर्फ भने उनले कुनै पहल गरेनन् ।

कार्कीको आव्हानलाई स्वागत गर्ने काँग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुअगाडि प्रदेशसभा बोल्दै भने, ‘उहाँले यो विषयमा कुनै पहल गर्नुभएन, मेरो पार्टीभित्र मलाई अप्ठ्यारो मात्रै भयो ।’ कार्की मुख्यमन्त्री नियुक्त भएपछि पुनः सर्वदलीय सरकारको आव्हान गर्नेछन् । तर, त्यो कामयावी देखिने सम्भावना कमजोर छ ।

काँग्रेस नेतृत्वको गठबन्धनको बहुमत हुँदाहुँदै उपसभामुख बिरामीको बाहनामा अनुपस्थित गराएर वा जेष्ठ सांसदहरुलाई घरासयी समस्या देखाउँदै विदामा बसाएर अप्ठ्यारोमा पारेका कार्कीले पनि सोही खालको अप्ठ्यारो झेल्नुपर्ने देखिन्छ ।

बिहिबार, २१ भदौ, २०८०, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर