विराटनगरको ऐतिहासिक रथयात्रा (फोटो फिचर)

विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा ट्राफिक चौकमा आइपुगेको छ । ५५ औं संस्करणको रथयात्राको अपरान्ह ४ बजे तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको हो ।

मेनरोडबाट अगाडि बढेको रथयात्रा रोडशेस चोक पुगेर कोशी राजमार्गको जनआन्दोलन चोक हुँदै बरगाछीबाट पुनः मन्दिरमा पुगेर समापन हुनेछ । रथयात्रा सुरु हुनुअघि विराटनगरमा जम्मा भएका १३ वटा स्थानीय तहका प्रमुखले दर्शन गरेका थिए । रथयात्रामा हजारौं भक्तजन सहभागी छन् ।

रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराइनेछ । रथयात्राका लागि ५ सय बढी स्वयंसेवक परिचालित भएका छन् भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालन गरिएको छ ।

रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित गरेको जनाएको छ । यसैबीच रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रथले परिक्रमा गर्ने सडकमा भगवान श्रीराधाकृष्णको फोटो राखिएको झण्डाहरु राखिएका छन् । रथले ९ किलोमिटर दुरी तय गर्नेछ । रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ ।

राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।

चोरी, लुटपाट, पाकेटमारी लगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र बृद्ध बृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको हो । प्रहरीले आफ्ना सवारी साधनलाई सुरक्षित रुपमा राख्न पनि आग्रह गरेको छ ।

भदौ २१, २०८०, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर