पुण्य पि अधिकारी
विराटनगरको वातावरण आज अरू बेलाको भन्दा निक्कै फरक हुन्छ । भगवान श्रीकृष्णको भक्तिभावमा लिन हुनेसँगै रथयात्राको भीँडभाँडमा दाऊ छोप्नेहरू निकै सक्रिय हुनेछन् । कोभिड–१९ को महामारीका समयमा विराटनगरमा श्रीकृष्ण रथयात्रा परम्परा धान्ने हिसाबले मात्र निकालियो । त्यसअघिका रथयात्राका क्रममा भीँडभाँडमा गरगहना, मोवाइल वा अन्य वस्तु चोर्न सक्रिय हुने धेरैलाई प्रहरीले नियन्त्रणमा लियो, आवश्यक कारबाही गर्यो । कतिपयले नगण्य मात्रामा हराएका वा चोरी भएका सरसामान फिर्ता पाएँ, तर अधिकांशका सामान हराए वा नासिए ।
विराटनगरको इतिहासका रूपमा श्रीकृष्ण रथयात्राको परम्परा जारी छ । रथयात्राका क्रममा श्रदालु भक्तजनसँगै भक्तको भेषमा चोरीचकारीमा लाग्नेहरू प्रशस्त भेटिने गरेका छन् । हामी नेपालीको सबैभन्दा ठूलो कमजोरीलाई पहिल्याएर चोरीचकारीमा संलग्न हुनेहरूले मौकामा दाऊ छोप्ने गरेका छन् । हामी नेपालीको कमजोरी भनेकै भीँडभाँडमा सचेत नहुनु हो । यस किसिमका भीँडभाँडलाई अवसरमा रूपमा लिएर गरगहना प्रदर्शन गर्ने हाम्रो शैलीका कारण चोरीचकारीमा लाग्नेहरूले मौकाको फाइदा उठाउँदै आएका छन् । तपाई पनि रथयात्रामा तडकभडकसहित गरगहना प्रर्दशन गर्ने सोचमा हुनुहुन्छ भने सचेत हुन् अति आवश्यक छ ।
यस पटक विराटनगरको रथयात्रा अरू केही कारणहरूले चर्चामा छ । काठमाण्डौँका मेयर वालेन शाह, ललितपुरका चिरीबाबु महर्जन, भरतपुरका रेनु दाहाल, पोखराका धनराज आर्चाय र वीरगञ्जका राजेशमान सिंह श्रीकृष्ण रथयात्रा अवलोकनमा लागि आउने विषयले यो साता चर्चा बटुलेको थियो । स्थानीय सरकारका प्रमुखहरूमध्ये मेयर वालेन शाह रथयात्रामा आए सबैभन्दा बढी युवापुस्ताबाट वालेनका लागि हुटिङ्ग हुने देखिएको छ ।
श्रीकृष्ण रथयात्राका सबैभन्दा टड्कारो विषय चुस्त सुरक्षा नै हो । मोरङ्ग प्रहरीले रथयात्रालाई मध्यनजर गरी हजार भन्दा बढी सुरक्षाकर्मी, २ सय बढी महिला सुरक्षाकर्मी, ५० ठाउँमा स्थिर सुरक्षा पोष्ट र एक दर्जन बढी चेकपोण्इट राखी सुरक्षा रणनीति बनाएको प्रहरीले जनाएको छ । यसका अतिरिक्त मोवाइल गस्ती श्रीकृष्ण रथयात्रामा क्रममा खटिनेछ ।भीँडभाँडमा मोवाइल,गरगहना वा बहुमूल्य वस्तुको जगेर्ना महत्वपूर्ण भएकाले प्रहरीले सुरक्षा दिने भएपनि आफू सचेत हुनु सबैभन्दा महत्वपूर्ण विषय हो ।
तपाई रथयात्रामा सहभागी हुने हो भने घरका झ्याल ढोका चुस्तदुरूस्त ढङ्गले बन्द गर्नु पहिलो प्राथमिकता हो । रथयात्रामा सहभागी हुन गएका मौकामा चोरीका घटना यसअघिका रथयात्रामा सार्वजनिक भएकै हुन् ।
राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार यो ५६ औँ संस्करणको रथयात्रा हो । वि.स.२०२५ सालदेखि परिर्वतित रूपमा निकालिन थालिएको रथयात्रामा यस पटक भारतसहित ५ लाख बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।राधाकृष्ण मन्दिरबाट सुरू हुने रथयात्राका लागि तीनपैनी चोक, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोड शेषचोक, बसपार्क, महेन्द्र चोक, शनि मन्दिर, भृकुटी चोक, बरगाछी चोक र दुर्गा चोकलाई रूट मानिएको छ ।