कोशीका मुख्यमन्त्री थापाविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाइ हेर्दाहर्दैमा गएको छ ।
निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा गएको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनउपर आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । भोलि बिदा भएका कारण पर्सिमात्रै अब जवाफी बहस हुनेछ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा हिजोबाट रिटउपर सुनुवाइ चलिरहेको छ ।
विपक्षीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।

रिट निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने भन्दै विश्वासको मत दिन नमिल्ने जिकिर गरे । भदौ ४ गते कोशी प्रदेश सभामा मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले मत दिएपछि नेकपा एमाले सर्वोच्च गएको हो ।

मङ्गलबार, १९ भदौ, २०८०, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर