इलामको कन्याममा चिया अनुसन्धान केन्द्रको निर्माण

विराटनगर । इलामको कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । सूर्योदय नगरपालिका–७ को कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको हो । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा अनुसन्धान केन्द्र निर्माण गरिएको हो ।

केन्द्र १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष् सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो । आर्थिक वर्ष २०७६÷७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो । विदेशी पर्यटकहरूलाई लक्षित गरेर अनुसन्धान केन्द्र बनाइएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

सडक कालोपत्रेसहित केही काम भने काम बाँकी रहेको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । आर्थिक वर्ष २०८०÷८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताए । उक्त स्थानमा चिया सङ्ग्रहालय, चिया परीक्षण, चिया बिक्री कक्ष, सभा हललगायत संरचना रहेका छन् । कन्याममा कोशी प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमा पर्दछ ।

मङ्गलबार, १९ भदौ, २०८०, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर