विराटनगर । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरिबन्धु टी स्टेट भ्रष्टाचार काण्डको तत्काल छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा गिरिबन्धु टी स्टेटमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन शुरू गर्न सरकारसँग माग गरेका हुन् ।
झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टा–पट्टामा ठूलो आर्थिक चलखेल भएको भन्दै यसको छानबिनको माग उठिरहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धुको बारेमा छानबिन गर्ने बताएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गिरिबन्धु सम्बन्धमा छानबिन गर्न सरकारलाइ चुनौती दिइरहेका छन् ।
सांसद खतिवडाले जननिर्वाचित पदाधिकारीले आफ्नो जिब्रोमा ब्रेक लगाउनु पर्ने अवस्था आएको बताए । ‘कोही आगो ओकल्छौँ, सिंहदरबार ध्वस्त गछौं भनिरहेका छन, कोही जातीय राज्यको कुरा गरिरहेका छन् । चुनाव जितेका प्रतिनिधिले आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्दिन पर्यो,’ काठमाडौंका मेयर बालेन शाहको अभिव्यक्तिप्रति कटाक्ष गर्दै खतिवडाले भने ।
मेयर शाहले पत्नी चढेको गाडीलाई ट्राफिकले रोकेपछि सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।