मुआब्जा माग्दै अरुण तेस्रो विद्युत गृहस्थल प्रवेशमा रोक

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग स्थानीयले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी –दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन् ।

शनिबारबाट अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गतका जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्गको सडकठप्प पारेको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए । अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युतगृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् । मुआब्जा नपाएकै कारण अनिश्चितकालीन विद्युतगृहस्थल पुखुवा प्रवेशमार्ग बन्द गरेको संयोजक राईले बताए ।

जिल्ला प्रशासन कार्यालयले गत वैशाख २६ गते छ्याङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । पहिलो चरणमा ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीको लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो ।

अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीय सहित तीन हजार बढी मजदुर कार्यरत छन् । आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सोमबार, १८ भदौ, २०८०, बिहानको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर