विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पठाउने गरेको पाइएको छ ।
क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पठाउने गरेको पाइएको हो ।
सशस्त्र प्रहरी बल मोरङले छापा हानेर विराटनगरबाट ठुलो परिमाणमा तस्करीको मटर बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानी विराटनगरले १२ सय ७५ केजी तस्करीको मटर विराटनगर ९ ठाकुरबारीबाट बरामद गरेको छ । बरामद गरेको मटर विराटनगरका किराना पसलका होलसेल व्यापारी उमाकान्त भगतको रहेको प्रहरीले जनाएको छ ।
विराटनगरमा भगतको ठुलो खाद्यन्यको होलसेल पसल रहेको छ । उनले क्यारिङ मार्फत तस्करी गरी मटर भण्डारण गर्ने र विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरेको मटर सशस्त्र प्रहरी विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । बरामद गरेको मटर ५७ हजार ३७५ मूल्य बरावरको रहेको प्रहरीको भनाई छ ।