विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो ।
माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने अभियान सुरु भएको छ । अभियानको प्रचारस्वरुप बिहान विराटनगरमा मार्च पास गरिएको हो । मार्चपासमा माओवादी केन्द्रका नेता तथा कार्यकताहरुका सयौं युवाहरु सहभागी रहेको थियो ।
विराटनगरको सहिद दिवाकर चोकबाट सुरू भएको मार्च पास विराटनगर महानगरपालिका हुँदै गोल्सा चोक भएर ट्राफिक चोकमा आएर कार्ण सभा भएको थियो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले आर्थिक रुपान्तरण र देश विकासको लागि माओवादीले नारा लिएर जनताको घरमा जाने बताए । राजनैतिक रुपान्तर भएकाले अब आर्थिक रुपान्तरण गरेर अगाडी बढनुपर्ने उनले बताए । आर्थिक रुपान्तरणको लागि माओवादी रुपान्तरण हुन जरुरी रहेको उनको भनाई छ ।
उक्त मार्चपासपछि विराटनगरका सबै वडामा कार्यक्रमहरु सुरु हुने बताइएको छ । घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । यस्तै केन्द्रीय कार्यक्रम अनुसार १ बजेको कार्यक्रम सम्पन्न भएपछि माओवादीले विराटनगरको वडा नम्बर १८ मा वृहत सभा गर्ने जनाएको छ । जसलाई माओवादी नेता तथा कोशी प्रदेश इन्चार्ज खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।