ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटनस्थल पाथीभराको दर्शन गर्न २ लाख जना भन्दा बढी भक्तजन तथा पर्यटकहरु पुगेका छन् । पाथिभरा पुगेर एक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षमा दुई लाख जनाभन्दा बढीले दर्शन गरेका हुन् । त्यस वर्ष सबैभन्दा कम साउन महिनामा दर्शनार्थीहरु पाथीभरा पुगेका थिए । गत वर्षको साउनमा एक हजार ७९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए भने सबैभन्दा बढी वैशाख महिनामा ३५ हजार ६६४ जनाले दर्शन गरेका थिए ।
समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार भदौ महिनामा ८ हजार ७५ जना, असोजमा २२ हजार ९६४, कात्तिकमा १७ हजार १७० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै, मङ्सिर महिनामा २३ हजार ३६६ जना, पुसमा छ हजार ५४ जना, माघमा पाँच हजार ८३७ र फागुनमा १८ हजार ६८६ जना, चैत्रमा ३० हजार ६१८, जेठमा २७ हजार २१७ र असार महिनामा ३ हजार ६०२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।
पाथीभराको दर्शन गर्न पूर्वी नेपाल, संघीय राजधानी काठमाडौँसहित पश्चिम नेपाल लगायतका स्वदेशी भक्तजनहरू आएका छन् । देश बाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतबाट भक्तजन मन्दिर पुगेका छन् । त्यस्तै, भेटी रकम चढाएको आधारमा अन्य अमेरिका, अस्ट्रेलिया, इङ्गल्यान्ड, दुबई, मलेसिया, साउदीसहित तीन दर्जन बढी देशमा भक्तजन आएर पाथीभराको दर्शन गरेकोे समितिले जनाएको छ ।