विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ ।
उपभोक्ताबाट जनगुनासो आएपछि विराटनगरको खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा सिल प्याक चनाको बोरामा ढुङ्गा र माटो भेटिएको हो । विराटनगर महानगरपालिकाको नेतृत्वमा विराटनगर ९ स्थित मेन रोडमा रहेको अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलमा गरेको अनुगमनको क्रममा जुनेली नामको चनाको सिल प्याक बोरामा चनाजस्तै देखिने माटोको ढल्ला र ढुङ्गा भेटिएको विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए ।
‘होटेलमा खाजा खान गएका उपभोक्ताहरूबाट खाजा खाने क्रममा पाएको चनामा ढुङ्गा भेटिएको छ । त्यसपछि हामीलाई गुनासो गर्नुभयो । खाद्य प्राविधिकसहितको टोली लिएर चना खरिद गरेर ल्याएको खुद्रा पसलमा सुरुमा अनुगमन गरियो । त्यसपछि होलसेल पसल अशोक कुमार एन्ड सन्समा बिक्रीमा राखिएको चनाको बोरा खोलेर हेर्दा मुनि तीर चनाजस्तै देखिने माटो र मसिनो ढुङ्गा पनि भेटियो,’ अनुगमनको नेतृत्व गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘पाँच केजी चनामा एक पावा २५० ग्राम चनाजस्तै देखिने माटोको ढल्ला र मसिना ढुङ्गाहरू भेटिएको छ ।’
अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलले विराटनगर–१ मा रहेको मा सिता इन्टरप्राइजेजबाट चना खरिद गरेर ल्याएको पाइएको छ । त्यसपछि मा सीता इन्टरप्राइजेज पनि अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा इन्टरप्राइजेजको गोदाममा २३ बोरा ‘जुनेली’ नामको चना भेटिएको छ । ‘हामीले शिलप्याक बोराबाट ‘जुनेली’ नामको चनाको नमुना सङ्कलन गरी ल्याब परीक्षणको लागि पठाएको छौँ,’ उनले भने, ‘अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पढाएका छौँ । केही दिनभित्रमा रिपोट आउनेछ । खान योग्य भए नभएको पत्ता लाग्नेछ ।’ रिपोर्ट आएपछि थप कारबाहीको प्रक्रिया अगाडी बढ्ने उनले बताए ।