विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्बोच्चको आदेश्सगै आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारी भने अलमलमा परेका छन् ।
बिहीवार सर्बोच्चले मुख्यमन्त्री उद्धब थापाको नियुक्ति खारेज गरेसगै शुक्रबार मुख्यमन्त्री कार्यालयमा पदवहाली गर्ने भन्दै कार्की काठमाडौबाट आउदैछन ।
महान्यायाधिवक्ता र सरकारी वकिलहरुले थापा नै कामचलाउ मुख्यमन्त्री हुने बताएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु अन्योलमा परेका हुन् । कार्कीलाई कि थापालाई कमचलाउ मुख्यमन्त्री मान्ने अन्योल देखिएपछि प्रमुख सचिब आवश्यक परामर्शको लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
अदालतले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न आदेश दिएपनी त्यो अबधिमा मुख्यमन्त्रीको कार्यभार कसले सम्हाल्ने भन्नेबारे केही बोलेको छैन । जसले अन्योलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु बताउछन ।
उता कार्कीका सहयोगीहरुले कार्की मुख्यमन्त्री भएको र कार्यालय आउने भन्दै गाडी बिमानस्थलमा पठाइदिन भनेका छन् । प्रमुख सचिव र प्रदेश प्रमुखको छलफल पछि को मुख्यमन्त्री हो भन्ने यकिन हुनसक्ने कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र कुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । प्रदेश प्रमुखको कार्यालयले कुनै निर्णय गरिसकेको छैन । मुख्यमन्त्री कार्यालयको बोर्ड र वेबसाईटमा थापाकै नाम मुख्यमन्त्रीमा कायम रहेको छ ।
कार्कीसगै उनको सरकारमा मन्त्री रहेकाहरुले पनि आजै मन्त्रालय जाने बताएका छन् । जसले कर्मचारीहरु भने तनाबमा छन् ।